Logo
Logo

कर्णालीको विकासमा लगानी जुटाउँदै स्थानीय सरकार


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् ।

नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा प्रदेश प्रमुख कलौनीले कोषले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानी गर्न सुझाव दिएका हुन् । उनले कर्णालीका स्थानीय तहमा स्रोत मात्रै भएर पनि विकास हुन नसक्ने भन्दै दक्ष जनशक्ति व्यवस्थापनमा पनि सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आगामी चार वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको बताउँदै पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने वचनबद्धता व्यक्त गरे ।

उनले स्थानीय सरकारले पनि अब अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपात मिलाउँदै आर्थिक तथा व्यावसायिक दृष्टिले उपयोगी आयोजनामा लगानी गर्न नीतिगतरुपमै स्पष्ट हुनुपर्ने बताए ।

यस्तै, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्नल प्रमुखाई नहिच्किचाउन आग्रह गरे । उनले बाहिरी मुलुकका उदाहरण दिँदै नगरपालिकाले आँट गरेर आन्तरिक स्रोत वृद्धि गर्ने खालका आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न प्रेरित गरे ।

सहभागी कर्णाली प्रदेशभरीका प्रमुखले संरचना बनाउन जग्गा आवश्यक रहेको भन्दै जग्गाको अभावले अधिकांश संरचना बनाउन नसकिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्