Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : विप्लव समूहमाथिको प्रतिबन्ध हटेकोदेखि ८ महिनापछि सुनको भाउ ८६ हजारमा आइपुगेकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध दुई वर्षपछि सरकारले हटायो, विप्लव समूहसँग तीन बुँदे समझदारी गरेसँगै शान्तिपूर्ण मार्गमा आउन विप्लव समूह तयार, शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शान्तिपूर्ण राजनीतिमा आएको घोषणा हुने, तीन वर्षपछि विप्लव सार्वजनिक कार्यक्रममा देखिने, विप्लवका कार्यकर्तालाई छाड्न गृहको देशभर सर्कुलर ।

२. नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाए संसदीय दलको बैठक, प्रतिनिधिसभाको बैठक बस्नु एकदिन अघि अर्थात् फागुन २२ का लागि बैठक बोलाइयो, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार लगायत प्रचण्ड–माधव समूहका सबै सांसदलाई बैठकमा सहभागी हुन एसएमएस पठाइयो ।

३. वर्तमान राजनीतिक विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठकले धारणा तय गर्न सकेन, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले राखे फरक मत, कांग्रेस प्रतिपक्षको भूमिकामा रहनु नै पार्टीका लागि हितकर हुने पौडेलको तर्क ।

४. नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले गरायो संघीय संसद सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सधारण सदस्यबाट निष्कासन गरेको जानकारी, पार्टीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता, निष्कासित समूहले संसदीय दलको हैसियतमा गरिने कुनै पनि कार्यलाई मान्यता नदिन पनि संघीय संसद सचिवालयलाई आग्रह ।

५. कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालको दावी, वर्तमान राजनीतिक समस्या समाधान गर्न बाधक नबन्ने भएकाले मिलेर जानको निम्ति जुनसुकै विकल्प पनि सोच्न सकिने भनाइ, निष्पक्ष रूपमा नेकपाको विवाद निरुपण गर्न निर्वाचन आयोगसँग माग ।

६. राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सनको बिहीबार सिन्धुलीमा प्रधानमन्त्री केपी ओलीद्वारा शिलान्यास, सिन्धुली र रामेछाप हुँदै बग्ने सुनकोशी नदीलाई बाँध बाँधेर तराईका पाँच जिल्लामा सिँचाइ तथा ३१ मेगावाट जलविद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य ।

७. कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा भारी गिरावट, केन्द्रिय तथ्यांक विभागद्वारा बिहीबार अर्थतन्त्रको अवस्था सार्वजनिक, चालु आर्थिको वर्षको पहिलो त्रैमासमा नेपालको अर्थतन्त्र ४.६ प्रतिशतले खुम्चिएको विभागको तथ्यांक ।

८. साताको अन्तिम कारोवारको दिन नेप्से परिसूचक ९० अंकभन्दा बढीले बढेर बन्द, कारोबार रकम ६ अर्बमा सीमित, निफ्राको शेयर १० प्रतिशतले बढ्यो, विकास बैंक र फाइनान्सबाट मार्जिन कर्जा लिने घट्दा वाणिज्य बैंकबाट लिने बढे, माघमा इम्पोर्ट लोन पनि ह्वातै बढ्यो, ८ महिनापछि सुनको भाउ तोलाको साढे ८६ हजारमा आइपुग्यो, चाँदी पनि ३० रुपैयाँ सस्तो ।

९. शहीद स्मारक ‘बी’ डिभिजनमा श्री भगवती विजयी, झम्सिखेल तीनका विरुद्ध दुई गोल अन्तरले पराजित, दोश्रो खेलमा आरसिटी र कुमारी क्लबले एक एक को बराबरी खेल्दै अंक बाँँडे, चैतमा आयोजना हुने पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको विजेताले ३ लाख नगद प्राप्त गर्ने, एशियन च्याम्पियनसिपका लागि नेपाली महिला भलिबल टिमको तयारी वैशाखबाट हुने ।

१०.र, म्यानमारमा सैनिक ‘कू’ कोविरुद्ध प्रदर्शनमा उत्रिएकामाथि सुरक्षाकर्मीले गोली चलाउँदा एकै दिन ३८ जना मारिए, अमेरिकी संसद् भवनमा आक्रमण हुनसक्ने भन्दै तल्लो सदनको बैठक स्थगित, अफगानिस्तानको उत्तरी प्रान्त फर्‍याबको काइसार र आल्मार जिल्लामा सेनाले गरेको कारबाहीमा कम्तीमा २३ तालिबान लडाकू मारिए ।

प्रतिक्रिया दिनुहोस्