Logo
Logo

अध्यक्षद्वयलाई प्रतिवेदन बुझाउने तयारीमा असन्तुष्ट सदस्य


- दृष्टि न्युज/संवाददाता


नेकपाको सचिवालय बैठक वालुवाटारमा बिहीबार बसेको नेपाल कम्युनिष्ट पाटीको सचिवालय बैठकमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेता ।

काठमाडौं, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शक्तिशाली कार्यदल भंग भएपछि केही नेता असन्तुष्ट बनेका छन् । उनीहरुले अध्यक्षद्वयलाई छुट्टै प्रतिवेदन बुझाउने तयारी गरेका छन् ।
शुक्रबारको बसेको सचिवालय बैठकले कार्यदल भंग गरेसँगै एकीकरणका बाँकी कामको प्रस्ताव सचिवालयले गर्ने निर्णय गरेको छ । यसले कार्यदलका केही सदस्यले लिखित धारणासहित प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने तयारी गरेका हुन् ।
कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य थिए ।
बिहिबार विहान कार्यदलका सदस्यसहित बसेको सचिवालय बैठकमा कार्यदलका सदस्यहरुले वाँकी काम टुंगाउन भन्दै एक हप्ताको समय माग गरेका थिए । बैठकमा कार्यदलले समय मागेपनि अध्यक्ष केपी शर्मा ओलीले कार्यदललाई थप समय नदिने र बाँकी काम सचिवालयलेनै टुंग्याउने प्रस्ताव गरेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत केही नेताले कार्यदललाई एक हप्ताको समय दिनुपर्ने प्रस्ताव राखेका थिए । तर, शुक्रबार बसेको बैठकमा अध्यक्ष ओलीको प्रस्तावअनुसार कार्यदललाई धन्यवादसहित विदाई गर्ने निर्णय गरेको हो ।
नेता भट्टराईले कार्यदललाई किन असफल बनाइयो र त्यसको विकल्प के हो ? भनेर कार्यदलका बहुमत सदस्यहरुले लिखित रुपमा आफ्ना धारणा सुझाव अध्यक्षद्वयलाई बुझाउने बताए । स्थायी कमिटी बैठकले १३ पुसमा ९ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदललाई पुस मसान्तभित्र एकीकरणका सबै वाँकी कामको प्रस्ताव तयार गर्ने, विधानमा भएको त्रुटि सच्चाउने, केन्द्रीय सदस्यको कार्यविभाजन जस्ता जिम्मेवारी थियो ।

प्रतिक्रिया दिनुहोस्