Logo
Logo

रित्तिंदै सरकारी ढुकुटी


- दृष्टि न्युज/संवाददाता



गत वर्ष चैत १६ गते ओली सरकारका अर्थमन्त्रीले अधिल्लो सरकारको गलत नीतिका कारण “सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा छ” भनेर औपचारिक रुपमा स्वेतपत्र जारी गरेर घोषणा गरेका थिए । उनले देउवा—प्रचण्ड गठवन्धन सरकारका विरुद्ध यस्तो गम्भीर आरोप लगाएका थिए । तर ओली सरकारको एक वर्षको अवधीमा सरकारी ढुकुटी कति भरियो भनेर बोल्न उनले हिम्मत गरेका छैनन् । किनभने सरकारी ढुकुटी यस एक वर्षमा अझ रित्तो भएको सरकारी तथ्यांकले नै स्पष्ट गरिरहेको छ ।

अर्थमन्त्री युवराज खतिवडा

यस आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशी मुद्रा संचिति गत वर्षको भन्दा ७ प्रतिशतले घटेर ९ अर्ब ४० करोड डलरमा झरेको छ । गत वर्ष अर्थमन्त्रीले भनेको रित्तो ढुकुटी भन्दा ७ प्रतिशतले घट्दा किन ओली सरकार चुप लागेर वसेको छ ? किन ढुकुटी गत वर्ष भन्दा रित्तो भयो भनेर स्वेत पत्र जारी गर्दैन ?

किनभने गत वर्ष आफैले रित्तो भएको भनी गम्भीर आरोप लगाएको भन्दा पनि ढुकुटीमा रकम घट्नु भनेको यो सरकारको गम्भीर असफलता हो । तर हाम्रा ठुला नेताहरु सरकारले विश्वलाई आश्चर्य हुने काम गरिरहेको भनेर फलाकिरहेका छन् ।

गत वर्ष देउवाको पालामा ६ महिनामा १४ करोड ३३ करोड रुपैया प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । तर यसपाली ६ महिनामा केवल ४ अर्ब ३६ करोड मात्रै भित्रिएको छ । यसमा पनि वर्तमान सरकार देउवा सरकार भन्दा असफल देखिएको छ ।

व्यापार घाटा गत वर्षको भन्दा ३२ प्रतिशतले वढेकोछ । यो पनि राज्यको लागि गम्भीर संकटको विषय हो । देउवाको पालामा गत वर्षको पहिलो ६ महिनामा शोधनान्तर घाटा ६ अर्ब ६६ करोड मात्र भएकोमा यस वर्ष ओली सरकारको पालामा पहिलो ६ महिनामा ६३ अर्ब ६८ करोड शोधनान्तर घाटा भएको छ । यो भनेको नेपालमा आउने पैसा भन्दा विदेशमा जाने पैसा ६३ अर्ब वढी भएको हो । यो भनेको गत वर्ष भन्दा पनि ओली सरकारको पालामा सरकारी ढुकुटी रित्तो भएको छ ।

देउवा प्रचण्ड गठवन्धन सरकारले गलत नीति लिएर सरकारी ढुकुटी रित्तो वनाएकोले बृद्ध भत्ता वढाउन नसकिएको भनि प्रधानमन्त्री ओली स्वयम्ले वोलेका छन् । तर यथार्थता भिन्न छ । ढुकुटी रित्तो भएर होइन कि कम्युनिष्ट नाम लिएर कांग्रेस कै अर्थ नीति लिएकोले बृद्ध भत्ता सम्म पनि नवढाइएको हो यस आर्थिक वर्षको वजेटमा ।

यदि ढुकुटी रित्तो भएकोले बृद्ध भत्ता नवढाएको हो भने आउँदो वजेटमा पनि बृद्ध भत्ता वढाउन नमिल्ने तर्क आउने हुन्छ । किनभने देउवा सरकारको पालामा भन्दा अहिले सरकारी ढुकुटी रित्तो भएको छ । ।

त्यो वेला र अहिले सरकारी ढुकुटी रित्तो हुनाको कारण सरकार संग पैसा नभएर होइन । वरु भएको पैसा विलासी गाडि, भ्यू टावर, फूलको माला, विदेश भ्रमण, अनावश्यक कर्मचारी बृद्धि आदिमा खर्च भएर रित्तो भएको हो । वजेटमा कमिशनतन्त्र हावी भएर विचौलियाहरुले र ठुलावडाले भ्रष्टाचार गरेर सरकारी ढुकुटी रित्तो भएको हो ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्