Logo
Logo

३७ बर्षअघि चोरिएको मुर्ति अमेरिकाले नेपाललाई बुझायो


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकी सरकारले नेपालबाट ३७ बर्षअघि चोरिएको एउटा महत्वपुर्ण मुर्ति नेपालाई हास्तान्तरण गरेको छ । अवैध रुपमा सन् १९८४ मा नेपालबाट चोरेर अमेरिका पुर्‍याइएको थियो । अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का उपसहायक निर्देशक टिमोथी एन. ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई नेपाली दूतावासमै आयोजित एक विशेष समारोहबीच हस्तान्तरण गरेका हुन् । यो लक्ष्मीनारायण पनि भनिने वसुदेव–कमलाजाको सो मूर्ति पाटनस्थित एक मन्दिरको ऐतिहासिक मूर्ति रहेको दुतावासले जनाएको छ ।

दुतावासका अनुसार त्यसलाई अमेरिकामा पुर्‍याई ड्यालस म्युजियम अफ आर्ट्स टेक्सासमा सन् १९९० देखि प्रदर्शनमा गरेर राखिएको थियो। वसुदेव–कमलजाको मूर्तिमा विष्णु र देवी लक्ष्मीलाई प्रतीकात्मकरुपमा देखाइएको हो । ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाई रहेको सो मूर्ति नेपालको मध्यकालीन अवस्थामा बनेको अनुमान गरिन्छ ।

दुतावासले भनेको छ, ‘सो मूर्ति सन् १९८४ मा ललितपुरको नारायण मन्दिरबाट चोरी गरी अवैधरुपमा अमेरिका ल्याइएको बताइन्छ,’
सो मूर्तिलाई अब युनेस्कोको महासन्धि लगायतका आवश्यक प्रावधान तथा अन्य उचित प्रक्रिया पुरा गरी नेपाल पुर्‍याइने भएको छ ।

सो हस्तान्तरण समारोहमा सम्बोधन गर्दै राजदूत खतिवडाले सो महत्वपूर्ण ऐतिहासिक मूर्ति फिर्ता गर्न सहयोग गरेकोमा अमेरिकी सरकारको प्रशंसा गरेका थिए।

त्यसैगरी सोहि समारोहमा सम्बोधन गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपसहायक विदेशमन्त्री एर्भिन मेसिंगाले नेपाललाई सांस्कृतिक सम्पदाको संरक्षणमा अमेरिकाको सधै साथ रहने बताएका छन् । साँस्कृतिक सम्पदाको संरक्षणको महत्वप्रति नेपाल र अमेरिका दुवै देशले उच्च महत्व दिएको र यस्तो सहकार्यलाई निरन्तरता दिईने उपसहायक निर्देशक ड्युनह्यामको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्