Logo
Logo

सवारी दुर्घटनामा आठ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । काठमाडौं, सिराहा, सर्लाही, महोत्तरी, बारा, मकवानपुर, चितवन र धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।
काठमाडौं, गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका सडक छेउमा पार्किङ गरी राखेको बा.४ख ९४०२ नम्बरको बसको हाइड्रोलिक ढोकामा च्यापिएर बसका सहचालक सिन्धुली घर भई हाल दक्षिणढोका बस्ने १९ वर्षीय किरण घिमिरेको बिहीबार राति मृत्यु भएको छ । ढोकामा घाँटी च्याँपिएको अवस्थामा घिमिरेलाई स्थानीयबासीलेदेखि तत्काल उद्धार गरी नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

सिराहा, कर्जन्हा नगरपालिका–१० प्रयागपुर चोकस्थित सडकमा स.१त ४२३१ नम्बरको ट्याक्टरबाट खसेर उक्त ट्याक्टरले बिहीबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही नगरपालिका बस्ने ११ वर्षीय आशिष सदाको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाही, गोडैता नगरपालिका–४ रौवा गाँउस्थित सडकमा बिहेको रथ बिहीबार साँझ पल्टिदा गम्भीर घाइते भएका रथका चालक सोही नगरपालिका–११ बस्ने २२ वर्षीय बिकाश महतोको जिल्ला अस्पताल मलगंवामा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका रथमा सवार गोडैता नगरपालिका–४ रौवा बस्ने १९ वर्षीय कसिम कुमार महतोलाई उपचारको लागि नवलपुरतर्फ लगिएको छ ।
महोत्तरी, औरही नगरपालिका–९ इनर्वा टोलस्थित सडकमा ना.७ ख ३६७६ नम्बरको टिपरले ज.५प ३९४ नम्बरको मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार औरही नगरपालिका–१ बस्ने ४० वर्षीया मिलादेवी चौधरीको जानकी हेल्थ केयर जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, सिम्रौनगढ नगरपालिका–४ हरिहरपुरस्थित अन टेष्ट लेखिएको ट्याक्टरले साइकलयात्री सोही स्थान बस्ने १३ वर्षीय बिबेक सहनीलाई बिहीबार साँझ ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । टयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–११ स्थित सडकमा को.१७ प१८८० नम्बरको मोटरसाइकलले बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री कैलाश गाउँपालिका–४ नामटार बस्ने ४० वर्षीय मिलनप्रसाद बर्तौलाको चुरेहिल हस्पिटल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ ।
त्यसैगरी चितवन, भरतपुर महानगरपालिका–१ पानी टंङकी ओरालोस्थित सडकमा ना.४७ प २७७५ नम्बरको मोटरसाइकल बिहीबार राति आफै अनियन्त्रित भई पल्टदाँ गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका–११ बस्ने २८ वर्षीय बिपिन गुरुङलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै धनुषा, मिथिला नगरपालिका–६ स्थित सडकमा स.४ प.११३१ नम्बरको मोटरसाइकल आज बिहान आफै अनियन्त्रित भई पल्टदाँ गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषा जनकपुर उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय अमितकुमार साहलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय साकेत सिंहको जनकपुर अंचल अस्पतालमा उपचार भइरहेको छ ।
यी सबै दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
ओखलढुङगाको सिद्धीचरण नगरपालिका–२ ठुलाछापस्थित बिजुलीको पोलमा चडेर काम गर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–१२ भडारे बस्ने ३१ वर्षीय जनक गुरुङको बिहीबार दिउसो मृत्यु भएको छ । विद्युत कार्यालय ओखलढुङगामा कार्यरत प्राविधिक गुरुङ बिजुलीको पोलमा चडेर काम गर्ने क्रममा करेन्ट लागेर पोलबाट खस्दा गम्भीर घाइते भई उपचारको लागि मिसन अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्