Logo
Logo

अमेरिकामा १९ खर्ब डलरको कोरोना राहत प्याकेज पारित


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकामा १९ खर्ब डलरको कोरोना राहत प्याकेज पारित भएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनको १९ खर्ब डलरको कोरोना राहत प्याकेजलाई पारित गरेको हो ।

सिनेटले शुक्रबार र शनिबार भएको मतदानबाट पारित उक्त प्याकेजका पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो। सिनेटरहरूले पार्टीको लाइनका आधारमा मत हालेका थिए। डेमोक्र्याटिक पार्टीका ५० सिनेटरले पक्षमा भोट हाले भने रिपब्लिकनका ४९ जनाले विपक्षमा मत हालेका थिए । १ जना रिपब्लिकन सिनेटर अनुपस्थित थिए। मत बराबर भएमा अमेरिकामा उपराष्ट्रपतिले निर्णायक मत हाल्न पाउने व्यवस्था रहेको छ ।

जनवरी २० मा पदभार सम्हालेपछि राष्ट्रपति बाइडेनले पहिलो पटक सिनेटबाट आफ्नो प्रस्ताव पारित गराएका छन्। अब उक्त प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभबाट पनि पारित हुनुपर्नेछ। तल्लो सदनमा डेमोक्र्याटहरूको बहुमत भएकाले प्रस्ताव सजिलै पारित हुने अपेक्षा गरिएको छ। तल्लो सदनमा मंगलबार मतदान हुन सक्ने बताइएको छ।

यो राहत प्याकेजअन्तर्गत सरकारले रोजगारविहीन अमेरिकीहरूको खातामा साताको ३ सय डलरदेखि महिनाको १४ सय डलरसम्म रकम जम्मा गरिदिने छ । यसबाट कोरोनाभाइरसले शिथिल भएको अमेरिकी अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ ।

यसअघि गत वर्ष पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेर २० खर्ब डलरको राहत प्याकेज ल्याएका थिए।हालसम्म अमेरिकामा कोरोनाभाइरसले ५ लाख २० हजार बढी मानिसको मृत्यु भएको छ भने लाखौंले रोजगारी गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्