Logo
Logo

कोरोना विरुद्धको खोप: नेपाल आइपुग्यो कोभ्याक्स सुविधाअन्तर्गत साढे ३ लाख डोज


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपको ३ लाख ४८ हजार डोज आज नेपाल आईपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले प्राप्त गर्ने खोपको मात्रा आइतबार काठमाडौं आईपुगेका हो ।

दोस्रो चरणको खोप अभियान शुरू भएकै दिन कोरोना भाइरसविरुद्धको खोपको ३ लाख ४८ हजार डोज नेपाल आइपुगेको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा कोभ्याक्समार्फत नेपालसँगै बंगलादेश र श्रीलंकाले पनि खोप पाउने छन् । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले २० प्रतिशत नागरिकलाई पुग्ने खोप प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको यो खोप पनि भारतको सिरम इन्सटिच्युटले उत्पादन गरेको हो । स्वस्थ्य तथजनसंख्या मन्त्रालयले चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने भएको छ ।

खोप भित्रिएको पुष्टि गर्दै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा कोभ्याक्सको कोभिडविरुद्धको खोप आइपुगेकोमा धेरै खुशी लागेको उल्लेख गरेकी छन् । बेलायत सरकारले खोपलाई नेपालीसम्म पुर्‍याउन सहयोग गर्दैआएको र खोपको पहुँच सबै नेपालीलाई हुन जरुरी रहेको उनले बताएकी छन् ।

उनले भनेकी छन्, ‘बेलायतमा बनेको खोप भएकोले थप खुशी लागेको छ ।’ सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् ।

मन्त्रालयका अनुसार भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र नेपाल आईपुग्नेछ । आजदेखि शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने भएको छ ।

करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने मन्त्रालयले जनाएको छ । असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले आजदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालेको हो । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्