हुम्लामा हिमपात, उडान अवरुद्ध « Drishti News – Nepalese News Portal
Logo

हुम्लामा हिमपात, उडान अवरुद्ध


दृष्टि संवाददाता


हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा लामो समयपछि सोमबारदेखि निरन्तर हिमपात भएको छ । विगतका वर्षमा भारी हिमपात हुने हुम्लामा यो वर्ष कमै मात्र हिमपात भएको हो ।

आइतबार बिहानबाट जिल्लामा बाक्लो बादल लागेसँगै सोमबार बिहान ७ बजेदेखि निरन्तर हिमपात भए पनि हिउँ जम्न नपाउँदै पग्लँदै गएको छ । उत्तरी नाम्खा गाउँपालिकासहित सिमकोट गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा बिहानैदेखिको हिमपातले हिमाल सेताम्ये देखिएका छन् भने जिल्लाको तल्लो होचो क्षेत्रमा पानी परिरहेको छ ।

पुस, माघमा सोचेजस्तो हिमपात नभए पनि फागुनको अन्तिम समयमा आएर हिमपात हुँदा चिसो निकै बढेको छ । बिहानैदेखि हिमपात हुँदा जिल्ला सदरमुकाम सिमकोटको जनजीवन चिसोले कष्टकर बनेको छ ।

हिमपात रोकिए लगत्तै यहाँका किसानले अब खेतबारीमा कात्तिकमा उब्जनी हुने बाली कोदो, फापर, सिमीलगायत बाली लगाउने भएका छन् । यो हिमपात यो वर्षको चौथो हिमपात भए पनि भारी हिमपात हुन सकेको थिएन ।

हवाइ उडान अवरुद्ध

बिहानैदेखि निरन्तर हिमपात हुँदा अन्तरजिल्ला जोड्ने एकमात्रै साधन हवाई यातायात अवरुद्ध भएको छ । हवाई उडान अवरुद्ध हुँदा नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान सञ्चालन हुन सकेको छैन । जिल्ला बाहिर जाने र जिल्ला भित्रिने यात्रु हिमपातका कारण यतै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्