Logo
Logo

प्रेम जीवन बाँच्ने आधार हो– सरिता भारती, गायिका


दृष्टि संवाददाता


गोरखा मिरकोटकी सरिता भारती आधा दशकदेखि गायनमा सक्रिय छिन् । उनको स्वरमा आधा दर्जन गीतिएल्बम आइसकेका छन् । सरिता दर्जनौँ गीतका गायिका हुन् । गायनसँगै मोडलिङ र पत्रकारितासमेत गर्दै आएकी उनी भन्छिन्, ‘मेरो प्राथमिकता गायन हो । गायनमै खुसी छु ।’ उनका ‘मेरो जवानी’, ‘लँुडो र तास’, ‘रातो सारी लरक्कै’, ‘यसपालीको दशैँ’जस्ता चर्चित छन् । विशेषगरी लोकगायनलाई अँगाल्दै आएकी सरिताले गायनबाटै विभिन्न अवार्ड समेत पाइसकेकी छन् । यिनै गायिका सरितासँग दृष्टिको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

गायन, मोडलिङ र मिडियाको नियमित काममै छु । दुई ओटा गीतको कम्पोज भएको छ । आगामी बैशाखमा रिलिज गर्नेगरी तयारी गर्दैछु ।

गाउन सुरु गरेको कति भयो ?

अनौपचारिकरुपमा बाल्यकालदेखि नै गाउँथे । सात वर्षको उमेरमा दोहोरी गाउँदा अँकलहरुलाई कडा जवाफ दिएपछि बुबाले तानेर अबदेखि गीत गाउने होइन भन्दै घरमा लगेको अहिले पनि याद छ । औपचारिकरुपमा स्कुलको स्टेज कार्यक्रममा गीत गाएँ । गीत रेकर्ड भएका आधा दशक हुन लाग्यो ।

गीत संगीत क्षेत्रमा कसरी प्रभावित हुनुभयो ?

गाउँमा पुजाआज, मेलापातमा, विभिन्न कार्यक्रममा अरुले गीत गाएको देखेर प्रभावित भएकी हुँ । रेडियो सुनेर अझ धेरै प्रभावित भएँ ।

हालै तपाइँको ‘हे गाजली’ गीत रिलिज भएको छ । यो कस्तो गीत हो ?

देउडा गीत हो । सुदूरपश्चिम हुँदै कुमाउ गडवालसम्म प्रचलित मौलिक देउडा गीतको रुपमा ‘हे गाजली’ तयार गरेका हौँ । जसमा मसँगै हिमालय राजको पनि स्वर छ । लय पनि हिमालयराजकै हो । डब्बु क्षत्रीले यसको शब्द र राज सागरले संगीत तयार गर्नुभएको हो ।

गायनसँगै र मोडलिङ पनि गर्नुुहुन्छ । तपाइँको खाश विधा के हो ?

व्यावसायिकरुपमा म गायनभन्दा मोडलिङमा अघि आएकी हुँ । तीन ओटा भिडियो खेलेपछि गायनमा लागेकी हुँ । अहिलेसम्म १९ वटा भिडियो र तीन वटा बिज्ञापनमा मोडलिङ गरेपनि मेरो परिचय गायिका नै हो । आफूलाई गायनमै अघि बढाउँछु ।

तपाइँ सञ्चारकर्मीका रुपमा पनि चिनिनुहुन्छ नि ?

हो, बिगत चार वर्षदेखि ब्युटीन्युज नेपालमा समाचार संयोजकको रुपमा कार्यरत छु ।

गायन, मोडलिङ र पत्रकारितामध्ये एक रोज्नुपर्दा कुन रोज्नुहुन्छ ?

गायन मेरो मुख्य पेशा हो । म आफ्नो सन्तुष्टीका लागि गायनमा लागेकी हुँ । म पत्रकारिताबाट पनि त्यत्तिकै सन्तुष्ट छु । पत्रकारिताबाट अरुको सेवाको अवसर पाउँदा झन् खुसी लागेको छ ।

तपाइँ लोकगायनमै बढी झुकाव किन ?

म गोरखाको मिरकोट निवासी हुँ । म बाल्यकालदेखि स्कुले जीवनसम्म लोकदोहोरी गीतमै रमाए । धेरै कार्यक्रममा लोकदोहोरी गीतमा जितेकी छु । सोही कारण लोकगायनमा झुकाव भएको हो ।

गायनबाट आत्मनिर्भर हुनसक्ने अवस्था छ कि छैन ?

अवश्य छ । अहिले गायनबाट राम्रो कमाइ छ । विभिन्न स्टेज कार्यक्रमबाट राम्रो कमाइ गरेकी छु । अरुको गीत गाएर पनि राम्रो पारिश्रमिक पाएकी छु । युट्युव, सिआरबिटी, पिआरबिटीबाट पनि राम्रो कमाई छ ।

तपाइँको पेसामा परिवारको सर्पोट छ कि छैन ?

गायनमा मेरो परिवारको पूर्ण सर्पोट छ । मलाई मेरो वुबा आमाले गायिका, कलाकार र पत्रकारको रुपमा हेर्न चाहनुहुन्थ्यो । उहाँहरुको सपनालाई साकार पार्न पाउँदा खुसी छु ।

फिल्ममा अभिनयका लागि अफर आयो भने गर्नुहुन्छ ?

अफर आएको छ । केही चलचित्रबाट कलाकारको रुपमा प्रस्ताव आएको हो । तर, दुई÷तीन वर्षपछि नायिकाकै रुपमा चलचित्र आउने योजना छ ।

तपाइँको बुझाइमा प्रेम के हो ?

प्रेम बाँच्ने आधार हो । जीवित र निर्जिव सबै कुरासँग प्रेम हुन्छ । युवा युवतीबीचको आकर्षणलाई मैले प्रेमको रुपमा नहेरेर उमेरले पार्ने प्रभावको रुपमा हेर्ने गरेको छु । कुनैपनि सजिव वा निर्जिव कुरालाई केयर गर्नु, त्यसलाई रुचाउनु प्रेम हो । तथापि, आजकाल मेरो गीतहरुसँगै आफैँंलाई बढी प्रेम गर्ने भएकी छु ।

अब त घरजम गरौँ भन्ने लाग्दैन ?

जन्म, विवाह र मृत्यु भन्नेकुरा भावीले नै लेखेको हुन्छ भनिन्छ । भावीले मेरो पनि एकदिन सुखद घरजम हुन्छ भन्ने पक्कै लेखेको होला ।

प्रतिक्रिया दिनुहोस्