Logo
Logo

कहिलेकाही दिक्क लाग्न अनि राजनीति छाडेर खेती गर्न हिँडु जस्तो लाग्छः प्रचण्ड


- दृष्टि न्युज/संवाददाता



भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई राजनीतिक परिस्थितिले कहिलेकाहीँ दिक्क लाग्ने गरेको बताएका छन्।
भक्तपुर तरकारी तथा फलफूल बजार उद्घाटन कार्यक्रममा शनिबार सम्बोधन गर्दै उनले भने, ’कहिलेकाहीँ परिस्थिति हेरेर बडो दिक्क पनि लाग्छ र यो सबै छोडेर म आफैं खेती गर्न हिँडूँ कि भने जस्तो हुन्छ।’

प्रचण्डले समृद्धिको यात्राको सबैभन्दा ठूलो आधार कृषिमा आधुनिकीकरण भएको बताए।

‘नेपालमा सुनको टुक्रा भएको, हामीसँग जति प्राकृतिक स्रोत साधन अन्त छैन तर हामी नै गरिब। कहीँ न कहीँ हाम्रो सोचमा परिवर्तन ल्याउन जरुरी छ। र, यसको नेतृत्व राज्य नै गर्नुपर्छ’, उनले भने, ’यो जनतालाई दोष दिने कुरा होइन। जनताले मेहनत गरेकै छ। श्रम गरेकै छ। पसिना बगाएकै छ।’

कतिपय देशमा न्यून जनसंख्या कृषिमा सहभागी भए पनि उत्पादन राम्रो भएको चर्चा गर्दै उनले नेपालमा भने नगन्य मात्रामा मात्रै राज्यले कृषिमा अनुदान, प्रोत्साहन र सहुलियत ऋण दिने गरेको बताए। यद्यपि, संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि कृषकमुखी कार्यक्रमहरु सुरु भएको उनले दाबी गरे। ’सुरु त भएको छ’, उनले भने, ’तर त्यो असाध्यै अपर्याप्त छ।’

’कृषिमा हाम्रो बजेट नाम मात्रैको छ। बजेट अन्तैअन्तै खर्च हुने गरेको छ’, उनले भने, ’त्यसलाई बदल्नुछ। अहिले पार्टी र सरकारमा पनि यो छलफल गम्भीर रुपमा गर्दैछौं।’

कृषिमा आधारित उद्योगहरुको विकास नगरीकन, कृषिमा उत्पादन वृद्धि र रोजगारी सृष्टिको निम्ति लगानी अनुदान नबढाएसम्म देशलाई समृद्ध बनाउने सपना पूरा हुन नसक्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्