Logo
Logo

भारतले ललितपुरको कुमारी घर पुनर्निर्माण गरिदिने, राजदूत गरे शिलान्यास


दृष्टि संवाददाता


ललितपुर । ललितपुरमा रहेको कुमारी घर पुनर्निर्माण हुने भएको छ । ०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको ललितपुरस्थित कुमारी घर भारत सरकारको अनुदानमा पुनर्निर्माण हुने भएको हो ।

मंगलबार भारतीय राजदुत विनय मोहन क्वात्राले ललितपुर महानगरपालिका–१६ मा रहेको कुमारी निवासको शिलान्यास गरे । विशेषगरी माटो र काठबाट निर्माण गरिएको कुमारी घर भूकम्प पश्चात क्षतिग्रस्त बनेको थियो ।

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले ४ करोड ५५ लाख ९४ हजार ९ सय ८५ रुपैयाँ ३२ पैसाको लागतमा भौतिक संरचनाको पुनर्निर्माण र नयाँ कुमारी घर निर्माण गर्न लागिएको प्राधिकरण केन्द्रीय आयोजना इकाइ भवन आयोजना निर्देशक श्याम किशोर सिंहले जानकारी दिए ।

भौतिक संरचनाहरू पुरानै मौलिक स्वरूपमा बनाउने र सिमेन्ट डन्डीको प्रयोग नगरिने सिंहले बताउनुभयो । डेढ वर्षमा सम्पन्न गर्ने गरी बनाउन लागिएको भवन भूकम्प प्रतिरोधी हुने उनको भनाइ छ ।

उक्त समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्व संस्कृति मन्त्री तथा ललितपुरका पूर्व मेयर बुद्घिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्याम किशोर सिंह, कुमारी छेँ उपभोक्ता समितिका सदस्य एवम् समुदाय सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्