Logo
Logo

भ्रष्टाचार मुद्दामा सांसद रौनियार अदालतमा उपस्थित


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १२ फागुन ।
दर्जनौँ सडक तथा पुल ठेक्का लिएर अलपत्र बनाउँदै हिँड्ने पप्पु कन्स्ट्रक्सनका मालिक तथा सांसद हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा बिशेष अदालतमा उपस्थित भएका छन् । उनीसहित १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा मुद्दा दायर गरेको थियो । छोरा सुमितसहित उनी आइतबार अदालतमा उपस्थित भएका हुन् ।

बर्दियाको बबई नदीमा पुल निर्माणका क्रममा भ्रष्टाचार भएको ठहरसहित रौनियारका बाबुछोरासहित १२ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । सो पुल उद्घाटन नहुँदै भत्किएको थियो । गुलरिया र बारबर्दिया जोड्ने पुल निर्माणमा १९ करोड खर्च भएको थियो ।

रौनियार र उनका छोरा सुमितविरुद्ध १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो । भ्रष्टाचार निवारण ऐनको दफा ८ (४) बमोजिम उनीहरूलाई दुई वर्ष कैद पनि दाबी गरिएको छ । १० कर्मचारीविरुद्ध पनि फरक–फरक बिगो दाबीसहित ५० करोडभन्दा बढीको मुद्दा एकसाथ दायर भएको छ । विभिन्न समयमा पप्पुको अनियमिततामा सहयोग गरेको अभियोग उनीहरूमाथि छ ।

पप्पु कन्स्ट्रक्सन हाल छोरा सुमितको नाममा छ । सांसद भएपछि रौनियारले कानुनी रूपमा कम्पनी छाडेका थिए । छोरा सुमित हाल फरार छन् । पप्पुले नै रौतहटको गौरमा पुल निर्माणमा ढिलाइ गर्दा डुंगामार्फत खोला तर्न बाध्य स्थानीय केही समयअघि दुर्घटनामा परेका थिए ।
९ भदौमा भएको डुंगा दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो । यही घटनामा सुमितविरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको थियो । हरिनारायण रौनियार पर्साबाट निर्वा्चित संघीय समाजवादी फोरमका सांसद हुन् ।

बबई नदीमा पुल निर्माणका क्रममा पप्पुको अनियमिततामा विभिन्न समयमा सहयोग गर्ने १० सरकारी कर्मचारीविरुद्ध फरक–फरक मुद्दामा ५० करोडभन्दा बढी बिगो दाबी गरिएको छ । प्रतिवादी बनाइएकामध्ये पाँचजना तत्कालीन समयमा सडक डिभिजन कार्यालय बाँकेका प्रमुख छन् ।

कृष्णदेव यादव, भानु जोशी, मनोज श्रेष्ठ, राजेशकुमार यादव र नवराज केसीविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरू विभिन्न समयमा डिभिजन प्रमुख थिए । भुक्तानीका आधारमा सबैलाई फरक–फरक बिगो दाबी गरिएको छ ।

यादवलाई एक लाख ४१ हजार बिगो दाबी गरेर मुद्दा दायर गरिएको छ । जोशीविरुद्ध दुईवटा बिगो दाबी गरिएको छ । एउटामा एक करोड ९५ लाख ८८ हजार तथा अर्काेमा एक लाख २५ हजार रुपैयाँको बिगो दाबी छ ।

राजेशकुमार यादवलाई पनि दुईथरी बिगो दाबी गरी मुद्दा दायर गरिएको छ । एउटा मुद्दामा ७४ लाख ५३ हजार र अर्काेमा ३ करोड १४ लाख १८ हजार बिगो दाबी गरिएको छ । यस्तै, श्रेष्ठलाई ९ करोड २४ लाख २४ हजार बिगो दाबी गरिएको छ । निमित्त डिभिजन प्रमुखका रूपमा काम गरेका नवराज केसीविरुद्ध ६ करोड ९२ लाख ४६ हजार दाबी गरिएको छ ।

यसैगरी, इन्जिनियर प्रेमकुमार चुवाईलाई ३ करोड १९ लाख ३८ हजार, इन्जिनियर हरिबहादुर खड्काविरुद्ध सात करोड ५४ लाख ४८ हजार, इन्जिनियर दीपेन्द्रबहादुर विष्टविरुद्ध एक करोड ६१ लाख ८३ हजार, सबइन्जिनियर कार्मा तेन्जिङ तामाङलाई १५ करोड आठ लाख ८४ हजार र अर्का सबइन्जिनियर गोविन्द गैरेलाई एक करोड ९५ लाख ८८ हजार बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्