Logo
Logo

म्यानमार सैन्य ‘कु’: श्रद्धाञ्जली सभामा प्रहरीको अन्धाधुन्ध गोली, १२ सर्वसाधारणको मृत्यु


दृष्टि संवाददाता

2.6k
Shares

एजेन्सी । म्यानमारका सुरक्षाकर्मीले शनिबार श्रद्धाञ्जली सभामा अन्धाधुन्ध गोली चलाउँदा १२ जना सर्वसाधारणको ज्यान गएको छ । सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिक माथि सुरक्षाकर्मीले गोली चलाएको रोयटर्सले जनाएको छ।

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डले र प्याये शहरमा उनीहरुको ज्यान गएको समाचारमा उल्लेख छ भने मृत्यु हुनेमा १३ वर्षीय बालक पनि रहेका छन्। केही साताअघि मृत्यु भएका एक युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। गोली लागेर कैयौं घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ तर उनीहरुको पहिचान गर्न सुरक्षाबलले रोकेको छ। गत फेब्रुअरी १ मा सेनाले कु गरेर सत्ता हातमा लिएयता सुरक्षाकर्मीको गोलीबाट ७० भन्दा बढी नागरिकको ज्यान गइसकेको छ। लोकतन्त्रवादी नेतृ आङसाङ सुकी लगायतका शीर्ष नेतालाई नजरबन्दमा राखिएको छ।

यसैबीच म्यानमारमा सैन्य ‘कु’को विरोध गर्ने नागरिकलाई अमेरिकाले आश्रय दिने घोषणा गरेको छ। राष्ट्रपति जो बाइडेन प्रशासनले पीडित नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने बताएका हुन्। यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेलाई लागू हुने पनि अमेरिकाले जनाएको छ। सेनाले सत्ता हातमा लिएपछि अमेरिकाले विरोध गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस्