Logo
Logo

ज्याक मा प्राइभेट जहाजमा चीनभित्रै ओहोरदोहोर !


दृष्टि संवाददाता


काठमाडौं । गत अक्टोबरमा सरकारी बैंक र नियामकको आलोचना गरेपछि चिनियाँ अर्बपति ज्याक मा एकाएक केहि समय हराए । उनी कहाँ छन् भन्नेबारे संसारको चासो बढ्यो। उनको आन्ट ग्रुपको ३७ अर्ब डलरको आइपिओ नै रोकिएपछि मालाई चीन सरकारले नै नजरबन्दमा राखेको हुनसक्ने आशंका गरियो। उनी सिंगापुर गएको पनि हल्ला चल्यो। त्यसयता उनी एक पटक सार्वजनिक कार्यक्रममा देखिए।

यस बीचमा सार्वजनिक कार्यक्रममा नदेखिए पनि ज्याक मा आफ्नो निजी जहाजमा चीनभित्र ओहोरदोहोर गरिरहेको खुलेको छ। राडार बक्सबाट प्राप्त डाटालाई विश्लेषण गरेर यो बीचमा माले बेइजिङ, कुनमिङ, हेइनानदेखि हान्जाउसम्म यात्रा गरेको देखिएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

५६ वर्षीय मासँग गल्फस्ट्रिम जेट छ। जुन जहाजबाट उनी बेइजिङदेखि लन्डन र न्युयोर्कसम्मको यात्रा गर्न सक्छन्। यो जहाज प्रायस् हान्जाउको प्राइभेट टर्मिनलमा पार्किङ गरिएको हुन्छ। हान्जाउ माले स्थापना गरेका अलिबाबा र आन्ट ग्रुपका मुख्यालय छन्। उनी विवादमा परेपछि जेटबाट हुने यात्रा भने पहिलाभन्दा कम भएको फाइनान्सियल टाइम्सले उल्लेख गरेको छ।्

अक्टोबरभन्दा पहिला मा तीन दिनमा एकचोटी यात्रा गर्थे भने जनवरी र फेब्रुअरीमा औसतमा उनले हप्तामा एक दिनमात्रै जहाजमा यात्रा गरेको देखिन्छ। यो बीचमा उनी धेरैजसो राजधानी बेइजिङ र दक्षिण टापु हेइनानमा पुगेका छन्।

चिनियाँ अधिकारीहरूले आन्ट ग्रुपबारे कुरा गर्न खोज्दा मा आफैं बेइजिङ गएका छन्। आन्ट ग्रुपमा कुनै औपचारिक पद नभए पनि ठूलो सेयर हिस्सा उनकै नाममा छ।

गत अक्टोबरमा सान्घाईमा बोल्दै माले सरकार नियन्त्रित बैंक र नियामकको आलोचन गरेका थिए। जुन आलोचनाले उनलाई विवादमा पारेको थियो। त्यसको अर्को दिन उनी बेइजिङ गएको र चार दिन बसेको देखिएको छ।

नोभेम्बर १ मा पनि उनी हान्जाउबाट फेरि बेइजिङ गएका छन्। त्यतिबेला माको जहाज बेइजिङमा दुई सातासम्म पार्किङ भएको थियो।

प्रतिक्रिया दिनुहोस्