Logo
Logo

अब नारायणहिटीमा राजारानीले हेरेका फिल्म हेर्न पाइने


दृष्टि संवाददाता


काठमाडौं । अब नारायणहिटी दरबार सङ्ग्रहालयमा रहेको तत्कालीन राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री सर्वसधारण जनताले पनि हेर्न पाउने भएका छन् ।

त्यहा पुगेका अवलोकनकर्ताहरूले केही समयपछि तत्कालीन राजपरिवारले हेर्ने गरेका सिनेमा तथा डकुमेन्ट्री हेर्न पाउने भएका हुन् ।

नारायणहिटी दरबारको मूल भवनमा दशैँमा टीका थाप्ने कक्षसँग जोडिएको सिनेमा हल दरबार हत्याकाण्डपछि बन्दै नै छ । दरबार अवलोकर्ताहरूको चासो र उत्सुकता सिनेमा हलप्रति हुने गरेकोले सो हल खुला गरी अवलोकनकर्ताका लागि सिनेमा प्रदर्शन गर्न नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिको तयारी रहेको छ ।

अब छिट्टै सिनेमा हलका कुर्सीमा बसेर तत्कालीन राजारानीले हेरेका सिनेमा हेर्न पाइने सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बताए । झण्डै २० वर्षसम्म ‘प्रोजेक्टर हल’ रहेको सानो कोठामा सिनेमाका ती रिललाई थन्क्याइँदा ढुसी परेको छ । रिल छोप्ने प्रत्येक भाँडोलाई सङ्ग्रहालयका कर्मचारीहरूले मट्टीतेलले सफा गरिरहेका छन् भने नेपाल चलचित्र संस्थानबाट अवकास पाइसकेका प्राविधिक भरतप्रसाद नेपाल रिललाई सफा गर्नेदेखि अन्य मर्मतका कार्यमा व्यस्त छन् ।

उनले २०२६ सालदेखिका डकुमेन्ट्री तथा केही नेपाली चलचित्रको रिल रहेको बताए । “धेरैजसो रिललाई यहीँ सफा गर्न सकिन्छ । कतिपयको अवस्था जीर्ण भएकाले भारतमा पठाउनुपर्ने हुनसक्छ ।” उनले भने ।

दरबारको सिनेमा हलमा दुईवटा प्रोजेक्टर छन् । तिनलाई सामान्य मर्मतपछि सञ्चालनमा ल्याउन सकिन्छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक दाहालले सकेसम्म आउँदो वैशाखबाट सिनेमा प्रदर्शन गर्ने तयारी गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्