Logo
Logo

अमेरिकी विदेश र रक्षा मन्त्री जापानमा, चिनियाँ प्रभाव बढेकामा चिन्ता व्यक्त


दृष्टि संवाददाता


टोकियो । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुगेका छन् । यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो ।

टोकियोमा जापानी विदेश मन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता निम्त्याउने गरी चीनले अघि सारेका गतिविधिहरु स्वीकार्य नहुने चेतावनी दिए ।

चीनको प्रभाव बढ्दै भन्दै अमेरिकाको वर्तमान जो बाइडेन प्रशासनले आफ्ना साझेदार मुलुकहरुबीचको परम्परागत गठबन्धन अझ सुदृढ गर्ने योजना अघि सारेको छ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धन मुलुकलाई चिढ्याएका कारण अमेरिका र यसका साझेदार मुलुकले दबाब खेप्नु परेको भन्दै बाइडेन प्रशासनले गठबन्धनलाई पुनर्जीवित तुल्याउने घोषणा गरेका छन् ।

जापानी समकक्षीसँगको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा उनीहरुले चीनका पछिल्ला गतिविधिहरु विश्व मामिला अनुकूल नभएको दाबी गर्दै चीनका यी गतिविधिबाट विश्वमै राजनीतिक, आर्थिक, सैनिक र प्रविधिगत चुनौतीहरु बढेको बताइएको छ ।

अमेरिका र जापान दुवै पक्षले एसिया प्रशान्त क्षेत्रमा विकास भइरहेका गतिविधिहरुप्रति गम्भीर चासो व्यक्त गरेका छन् ।

अस्टिन र ब्लिन्केनले उत्तर कोरियाली नीतिको पनि समीक्षा गर्ने अपेक्षा गरिएको छ । वक्तव्यमा उनीहरुले उत्तर कोरियालाई पूर्ण आणविक निरस्त्रीकरणका लागि आग्रह गरेका थिए । उनीरुले उत्तर कोरियाली आणविक हातहतियारहरु अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वका लागि खतरा रहेको पनि बताए ।

तर विदेश मन्त्री ब्लिन्केनले उत्तर कोरियाली नेता किम जङ अनकी बहिनीले दिएको वक्तव्यका बारेमा कुनै टिप्पणी गरेनन् । उनले भने, ‘हामी उत्तर कोरियामाथि प्रभावकारी दबाब सिर्जना गर्न सकिने विभिन्न पक्षमाथि विचार विमर्श गरिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्