Logo
Logo
सत्ता समीकरणको कसरत

आफ्नै नेतृत्वमा सरकार बनाउन जसपामा बहस


दृष्टि संवाददाता


काठमाडौं । सरकार परिवर्तन र नेपालको राजनीतिक संकट पर्ख र हेरमै केन्द्रित छ । सर्प, विच्छि र भ्यागुतो एकै ठाउँमा रहँदा तीनै जीव हलचल गर्दैनन् ।

त्यस्तै बनेको छ, नेपालको राजनीति । नेकपा बदर हुँदै एमाले र माओवादी केन्द्र पुनर्स्थापित बनेपछि एमालेलाई दिंंदै आएको माओवादीको समर्थन फिर्ता नहुँदा र एमालेभित्रको किचलो टुंगोमा नपुग्दा कांग्रेस र जनता समाजवादी पार्टी ‘पर्ख र हेर’ कै अवस्थामा छन्

कम्युनिष्टहरुबाट पटक–पटक धोका पाएको निचोडमा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिलेकै अवस्थामा सरकारको नेतृत्व आफैंले गर्ने पक्षमा खुलेका छैनन् । मन भएपनि भोलि धोका हुनसक्ने आंकलनका साथ मौन बसेका छन् । अर्को निर्णायक शक्ति मानिएको जसपा पार्टीको विवाद र सत्ता समिकरणमा देखिएको अलमलले अनिर्णयको बन्दी बनेको छ ।

अनिर्णयको बन्दी बनेको राजनीति

संसदको चौथो दलका रुपमा रहेको जनता समाजवादी पार्टी यतिवेला निर्णायक जस्तो देखिएको छ । जसपालाई साथ नलिइ कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार गठन गर्न सक्दैनन् ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीलाई जसपाको साथ मात्र भयो भनेपनि सरकार जोगिन सक्छ तर, त्यो पनि एमाले एक ढिक्का बन्नुपर्ने अवस्थामा मात्र । अहिलेको एमाले विवाद हेर्दा यो सम्भावना निकै कम देखिन्छ । लगभग फुटको संघारमा पुगेको एमालेका अध्यक्ष समेत रहेका ओली पनि तत्काल जसपाका सबै माग पुरा गरेर उसको विश्वासको मत लिइहाल्ने पक्षमा छैनन् ।

अर्कोतिर एमालेलाई माओवादी केन्द्रको समर्थन यथावत् रहेको र एमालेभित्रको विवाद कायम रहँदा कांग्रेस पनि कुनै निर्णय गरिहाल्ने पक्षमा छैन । सभापति देउवा पार्टीको १४ औं महाधिवेशनको मुखमा सरकारमा जाने हतारो गरेर पछुताउने पक्षमा छैनन् ।

जसपाभित्र विवाद

जनता समाजवादी पार्टी (जसपा) मा दुई धार देखिएको छ । माग पुरा गर्ने सवालमा एकमत रहेपनि संघीय समाजवादी पार्टी पृष्ठभूमिका बाबुराम भट्टराई, उपेन्द्र यादवहरु प्रधानमन्त्री ओलीलाई हटाएरै जानुपर्ने अडानमा छन् ।

यता, राष्ट्रिय जनता पार्टी पृष्ठभूमिका नेताहरु महन्थ ठाकुर, राजकिशोर यादव, अनिल झा लगायत आफ्ना माग पुरा गराउन ओली नै भएपनि फरक नपर्ने भन्दै वार्तामै छन् । विवाद कायममै रहँदा जसपा ठोस निष्कर्षमा पुग्न सकेको छैन ।

आज (बुधबार) पदाधिकारी बैठक बोलाएको जसपाले भोलि केन्द्रीय समिति बैठक राख्दैछ । तर, निष्कर्ष निस्किनेमा जसपाकै नेताहरु विश्वस्त छैनन् । ‘भट्टराई, यादवलाई प्रधानमन्त्री ओलीसँग पुरानो रिस छ, त्यसैले उनीहरु ओलीको विकल्प खोज्दैछन् । हामीलाई जसले माग पुरा गर्छ, चाहे त्यो ओली वा देउवा वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै किन नहुन उसैलाई साथ रहन्छ ।’ एक नेताले भने ।

राजपा पृष्ठभूमिका उनले भने, ‘हाम्रो माग ओलीले सजिलै पूरा गर्छन । त्यसैले उनलाई नै साथ दिंदा उपयुक्त हुन्छ ।’ तर, उपेन्द्र यादव तथा बाबुराम भट्टराई भने ओलीको प्रतिगमनको विरोधमा रहेकाले उनलाई साथ दिन सकिदैन भन्ने तर्क गर्छन् । जसपाभित्रको यो किचलोका कारण अहिले उनीहरु पर्ख र हेरकै अवस्थामा रहेको बताउँछन् ।

जसपाभित्र दुबै पक्षको विवाद जारी रहँदा आफ्नै नेतृत्वमा सरकार बनाउँनुपर्ने विषय पनि जबरजस्त उठ्न थालेको छ । जसपाका नेता मोहम्मद् इस्तियाक राईले भने, ‘जसपा नभइ नहुने अवस्थामा रहेकाले आफ्नै नेतृत्वमा सरकार किन नबनाउने ?’ यो पाटोमा पनि छलफल अघि बढाउनुपर्नेमा अर्का नेता राजकिशोर यादव पनि सहमति राख्छन् ।

जसपाले ठोस निर्णय नगर्दा सरकार परिवर्तनको मुद्दा अन्योल बनेको छ । यसमा माओवादी केन्द्र, एमाले भित्रकै दुईधार पनि कारक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्