Logo
Logo

७८ जना न्यायाधीश छानबिनको घेरामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ फाल्गुन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा गरेका छन् । न्याय सम्पादन त्रुटि भेटिएको, बिचौलियासँग गठजोड रहेको उजुरीपछि उनले तीन न्यायाधीशको काज सरुवा गरेका हुन् ।

काज सरुवा गरिएका न्यायाधीशमा चण्डीराज ढकाल, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेल रहेका छन् । ढकाल र बागचन्दलाई उच्च अदालत सुर्खेतको जुम्ला इजलास र पोखरेललाई उच्च अदालत जनकपुरको राजविराज इजलास सरुवा गरिएको आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालतका न्यायाधीश निष्पक्ष हुनुपर्नेमा बिचौलियासँग सम्पर्कमा रहने र भ्रष्टाचारका ठूला मुद्दामा धमाधम धरौटीमा छुट्ने क्रम बढ्न थालेपछि प्रधानन्यायाधीश जबराले काज सरुवा गरेको स्रोतले बतायो ।

सर्वोच्च अदालतको पद बहालपछि प्रधानन्यायाधीश जबराले न्यायालयभित्रको बेथिति हटाउनका लागि सूक्ष्म अनुगमन थाल्दै आएका छन् । न्यायालयमा न्यायाधीशबाटै बेथिति भएको निष्कर्षसहित उनले कार्यसम्पादन मूल्यांकन हेरेर न्यायाधीशको काज सरुवा र स्पष्टीकरण लिइरहेका छन् । न्यायपरिषद् सचिवालयले न्याय सम्पादनमा गम्भीर त्रुटि गर्ने ७८ जना न्यायाधीशविरुद्धको उजुरीका विषयमा छानबिन सुरु गरेको पनि समाचारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्