Logo
Logo

विराटनगरका संस्थापक मेयर अशोक कोइरालाको निधन


दृष्टि संवाददाता


विराटनगर । विराटनगरका संस्थापक मेयर तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य अशोक कोइरालाको निधन भएको छ । मुटुको समस्या भएर न्यूरो अस्पतालमा उपचार गराइरहेका ७७ वर्षीय कोइरालाको गएराति निधन भएको उनको परिवारले जानकारी दिएको छ ।

उनलाई निमोनिया पनि भएको नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले जानकारी दिएका छन् । कोइराला कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालाका आफ्नै भाइ हुन् । बुवा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौ सन्तानका रुपमा उनको विराटनगरमा नै जन्म भएको थियो ।

नेता कोइराला २०४४ सालमा नेपाली कांग्रेस मोरङको सभापति बनेका थिए । लामो समय राजनीतिमा सक्रिय रहेका कोइराला केही वर्षयता स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा थिएनन् ।

निधनपछि उनको शव विराटनगर महानगरपालिका–८ स्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्