अजित राईको मृत्यु प्रकरणमा ५ जना प्रहरी नियन्त्रणमा « Drishti News – Nepalese News Portal
Logo

अजित राईको मृत्यु प्रकरणमा ५ जना प्रहरी नियन्त्रणमा


दृष्टि संवाददाता


खोटाङ । कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु प्रकरणमा प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुष नियन्त्रणमा लिएको हो ।

राति घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए ।

पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको र उनीहरुको बयानपछि मात्र घटनाका बारेमा वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्