Logo
Logo

प्रारम्भिक प्रशोधनविनै मेलम्चीको पानी परीक्षण गरिने


दृष्टि संवाददाता


काठमाडौं । चैत १५ गतेदेखि परीक्षणको तयारीमा रहेको मेलम्ची खानेपानी आयोजनाले पानीको प्रारम्भिक प्रशोधनका लागि चाहिने ‘हेडबक्स’ निर्माण सकेको छैन । आयोजनाले दुई महिनाभित्र हेडबक्स निर्माण सक्ने जानकारी दिएको गोरखापत्रले उल्लेख गरेको छ ।

मेलम्चीको पानी सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि ‘हेडबक्स’ चाहिन्छ । अहिले विना प्रारम्भिक प्रशोधन नदीको पानीलाई सीधै सुरुङमा हालिएको छ ।

आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले डिसेम्बरमै ‘हेडबक्स’ निर्माण सम्पन्न गर्ने अन्तिम समयावधि रहे पनि कोभिड–१९ को महामारीका कारण काम सम्पन्न हुन नसकेकाले ६ महिना थप गरिएको जानकारी दिएको गोरखापत्रले उल्लेख गरेको छ । अहिले हेडबक्समा ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली जडानको कामसमेत भइरहेको छ ।

सुरुङको परीक्षण सम्पन्न भएसँगै हेडबक्सको समेत काम सम्पन्न हुने र स्थायी रूपमा मेलम्चीको पानी हेडबक्स भएर सुरुङमा पथान्तरण गरिने छ । हेडबक्सले इन्टेकमा भएका विभिन्न ढोकालाई सफा गर्ने, पानीसँगै आएका गिट्टी बालुवालाई छुट्याउने र थुपार्ने, पानीमा मिसिएका घुलनशील पदार्थलाई थिग्र्याउने गर्छ । हेडबक्सबाट यी सबै प्रक्रिया पूरा भइसकेपछि मात्र पानी सुरुङ पथान्तरण गरिन्छ ।

‘स्काडा’ पनि निर्माणाधिन

मेलम्चीको पानीलाई सहज र सरल रूपमा उपत्यकावासीको धारासम्म पुर्याउन आयोजनाले ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणालीको निर्माण गरिरहेको छ । सहज र सुरक्षित खानेपानी वितरणका लागि संसारभरि नै अपनाइएको अहिलेसम्मकै यो अत्याधुनिक कम्प्युटराइज्ड स्वचालित प्रणाली हो ।

स्काडा अनुगमन प्रणाली जडानका लागि यो प्रणाली जडानका लागि ठेक्कापट्टा भई निर्माण कार्य सुरु भइसकेको आयोजनाले जनाएको छ । निर्माणको जिम्मा फ्रेन्च कम्पनी भीसीजीपी डब्लूएमआई (वाटर म्यानेजमेन्ट इन्टरनेसनल) र नेपाली कम्पनी कालिका (जेभी)ले पाएका छन् ।

यो अनुगमन तथा नियन्त्रण प्रणालीको जडानसँगै एउटा कोठामा बसेर कम्प्युटरको माध्यमबाट पानी प्रशोधन केन्द्रको सञ्चालन, अनुगमनका साथै पाइपलाइनमा कुन गतिमा पानी प्रवाहको अनुगमन तथा नियन्त्रण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्