Logo
Logo

डीएसपीको धम्कीले अख्तियारमा हंगामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । दैनिक जसो सरकारी कर्मचारीहरु घुससहित रंगेहात पक्राउ परिरहेका छन् । अचम्म के भने त्यसरी पक्राउ परेका कर्मचारीमा कुनै पश्चाताप देखिन्न । बरु पक्राउ परेपछि अदालतमा समेत सोर्सफोर्स लगाएर उन्मुक्तिका लागि चलखेल गर्दछन् ।

मुद्दा जित्न कतिपयले पीडितलाई धम्काउने काम समेत गर्दछन् । यस्तै एउटा धम्कीसम्बन्धी उजुरी यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । यसरी धम्की दिने व्यक्ति गत असोज २० गते पक्राउ परेका महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राई हुन् । आयोगले एक लाख ४० हजार रुपैयाँ घुससहित उनलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो ।
यतिबेला उनको मुद्दा बिशेष अदालतमा अघि बढेको छ । आइतबार अदालतमा बकपत्र थियो । बकपत्र अगाडि डिएसपी राईले पीडितलाई धम्काएका हुन् । उनको धम्कीको शैली पनि अनौठो छ । पीडितका निकट व्यक्तिलाई चिठी पठाएर धम्काएका थिए ।
अदालतमा आफ्नो विपक्षमा नबोल्न भन्दै उनले त्यसरी धम्काएका हुन् । त्यसलाई पठाइएको धम्कीपूर्ण पत्र पीडितले अख्तियारमा बुझाएका छन् । अख्तियारले धम्की दिएको घटनामा पनि उनीमाथि कारबाहीका लागि प्रहरीलाई पत्राचार गर्ने तयारी गरेको छ ।
एक बालुवा व्यापारीसँग राईले घुस लिएका थिए । कारोबारमा सहज गरिदिने भन्दै उनले टिभी किन्न लगाएका थिए । पछि आफैंले टिभी किनेकाले बिल तिरिदिन भन्दै फोन गरेर हैरान बनाएपछि ती व्यक्तिले अख्तियारलाई सूचना दिएर घुस दिएका थिए । जसकारण राई आयोगको फन्दामा परे ।
डिएसपी राई कुनै समय अख्तियारकै स्टिङ अपरेशन टिममा थिए । त्यसकारण अख्तियारले कसरी पक्राउ गर्छ भन्ने उनलाई थाहा थियो । चापागाउँ वृत्तमा हुँदा उनी रेकी गरेर मात्र घुस लिन्थे । तर, बौद्ध वृत्तमा जाने वित्तिकै दैनिक जसो घुस असुली गर्न थालेपछि उनलाई लत लागिसकेको थियो, जसले अख्तियारको डर भागिसकेको थियो । अहिले बिशेष अदालतका न्यायधीशलाई समेत विभिन्न ठाउँबाट दबाब दिन लगाएर उनी आफ्नो पक्षमा फैसला गराउने चलखेलमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्