धर्तीको स्वर्ग रामारोशन « Drishti News – Nepalese News Portal
Logo

धर्तीको स्वर्ग रामारोशन


appharu


पूर्णबहादुर खड्का

मनै लोभ्याउने तालहरू अनि रहरलाग्दा फाँट । आकाशै छोप्लाजस्ता अग्ला पहाडका चुचुरा र तालमा पौडिरहेका जलहाँस । रोशन मैदानमा नाचिरहेका डाँफे तथा दौडिरहेका मृग र कस्तूरी । सेता र राता लालीगुराँसको मनमोहक दृश्यले जोकोहीको मन लोभ्याउँछ । यो हो, प्रकृतिले टपक्क राखिदिएको एक स्वर्गको टुक्रा अथवा रामारोशन । तल पातलगाउ“ । बीचमा कैलाश खोला र छिमेकी गाविसहरू । पश्चिममा भाटाकाटिया र पूर्वी दक्षिणमा बाटुलासैन । यस्तै पूर्वमा कालिकोट जिल्ला । यी सबैका बीचमा रहेको रामारोशन क्षेत्र समुद्री सतहबाट २ हजारदेखि झन्डै ४ हजार मिटरसम्मको उचाइमा अवस्थित छ ।
घनघोर जंगलको हरियाली र बाह्र बण्ड अठार खण्डले नामकरण गरिएको यो क्षेत्रका ठूलाठूला गुफा साँच्चिकै रोचक र हेर्नलायक छन् । १२ वटा ताल र १८ वटा फाँट भएकाले रामारोशनलाई बाह्र बण्ड अठार खण्ड भनिएको हो । एक घण्टा पहाड चढ्नेबित्तिकै देखिने डाँफेचरीको ताँती एउटा महŒवपूर्ण पाटो हो भने घोरल, झारल, थार, बाघ, भालु, बदेल, रतुवा, कालिजजस्ता जनावर र चराचुरुंगीहरूको आकर्षणको केन्द्र रामारोशनको अर्को विशेषता हो । वसन्तको आगमनसँगै रामारोशन पुग्दा त्यहा“का चराचुरुंगीको गीत र चुल्लु चरोको रुवाइ झन् अकर्षक लाग्छन् । हावासँगै फरफर हल्लिने रूखका पातहरू, जंगलमा मान्छे बोल्दा प्रतिध्वनि दिने डाँडापाखा रमाइला लाग्छन् छन् । उराठलाग्दा मनोरम रोशन र किनिमिन्निका विशाल मैदान एकदमै रमणीय छन् । यहा“का जंगली फलफूलहरू दाख, ताराचुक भनेका मुख्य आकर्षण हुन् भने जंगली बोटबिरुवामा देउला, धुपी, लौठदेखि हरियो वनजंगल पनि उत्तिकै आकर्षक छन् । बीचमा विशाल मैदान पहाडी तराईजस्तै छ भने पूर्वमा चिन्डेनी, बागफाल र गोरेकोट पश्चिममा पडीपाखा, आकाशे भीर र किनिमिनी र रोशनको वाङे छहरा पनि उराठलाग्दा प्राकृतिक वरदान नै साबित भएका छन् । सुन्दर प्रकृतिको वरदान मानिएको रामारोशन पछाडि पर्नुका कारण हुन्, अछामका जनप्रतिनिधिको चासो नहुनु र राज्यले समेत बेवास्ता गर्नु ।

आफ्नै गतिमा बगिरहने कैलाशखोलाको जन्म पनि त्यसै रामारोशनमै भएको हो । बागफाल, चिन्डेनी र गोरेकोटको डाँडाबाट उम्रिएको कैलाशखोला रामारोशनका खोलाखोल्सा हु“दै दुई भागमा विभाजन भएर बग्ने गरेको पाइन्छ । रोशन र किनिमिनीको बीच मैदानबाट तराईका नदीजस्तो जिगज्यागमा बग्दै रोला भन्ने ठाउ“बाट आंैलाघाट छहरा हु“दै माछेमूल खोलाको दोभानमा पुग्दछ । हजारौं जीवजन्तुको ताती र लाखौं जडीबुटीको उत्पादन केन्द्र कहलिएको महŒवपूर्ण ठाउँ हो रामारोशन । रामारोशनका लागि पातलगाउ“ लगभग दुई घण्टा उकालो हिँड्यो पुग्न सकिन्छ । तर आजभोलि सहजै जिप तथा मोटरसाइकहरू रामारोशननजिकै पुग्छन् । दसौं हेलिकोप्टरहरू स्थल र एरपोर्ट बनाउन सकिने सो मैदानहरू संरक्षणबिना झन् ओरालो नलाग्लान् भन्न सकिन्न । तीनतिरबाट डाँडाका“डाहरूले घेरेर बीचमा दुईवटा विशाल मैदान बनेको रामारोशन यो एउटा मनमोहक दृश्य भएको र राज्यको ध्यान बेलैमा पुग्यो भने पर्यटकीय स्थल बन्ने सम्भावना बोकेको भूमि हो । यो अटल र चहकिलो स्तम्भका रूपमा उभिएको चाखाको डा“डो अझ हेर्न लायक र मनलाई उमंगमय बनाउने खालको देखिन्छ । पुसमाघमा हिउ“ परेर सेताम्य देखिने र वसन्तमा विरहको भाका बोल्ने कोइली चरी अनि वर्षायाममा छहराछाँगाले मनोरम दृश्यलाई अझ बढी सुन्दर छ ।

रामारोशनमा थुप्रै मनमोहक ताल छन् । रामेमा करिब १० बिघाभन्दा बढीको जंगली मैदानमा तीनवटा ताल छन् । रामेबाट दल्लेना एक किलोमिटर तल पर्दछ । दल्लेनामा पूर्वबाट पानीको मूल अनि पूर्वैबाट पानी निकास भएको आकर्षण भएको मुख्य ताल रामेको पहिलो ताल रामेताल हो । त्यहाँ चौतर्फी हराभरा जंगल र बीचमा हरियो वनजंगलले सजिएको मनोरम दृश्य देख्न सकिन्छ । रामे आफंैमा रामे भएकाले यहाँका पूर्वजका भनाइअनुसार करिब सय वर्षअघि दलितहरूले जान नहुने, कुखुरा पाल्न नहुने, दलित भन्नै नहुने, कथंकदाचित् भन्नैपरे नाम भन्न नहुने रामे भनेर सम्बोधन गर्नुपर्ने किंवदन्ती रहेको छ । रोशन गडा रामेको बन्डालबाट करिब तीन किलोमिटर अगाडि पूर्वोत्तरमा पर्दछ । रोशन गडा करिब सय गोठालाका गोठ भएको र करिब ६ हजारभन्दा बढी बस्तुभाउ पाल्न सकिने एक पत्याउनै नसकिने गडा हो । उत्तरतिर अटल अकासे भीर मालिकाको शिर र चाखाको चुचुरो अनि चारैतिर हरियो र सुन्दर देखिने जंगलले त त्यहाँ के होला भनेर सोच्ने गरिन्छ । तर त्यहाँ पुग्दा साँच्चिकै रोशन बिहानीको उदाउँदो लालिमासँगै चाखा मालिका र अकासे भीरसँगै मुसुक्क हाँसेको देख्न सकिन्छ । चारैतिर मैदानी भूभाग भएको यो मैदानमा ४० प्रतिशत भूगोल दलदलले भरिएको छ भने २० प्रतिशत भूगोल जंगलले भरिएको देख्न सकिन्छ । अन्य ४० प्रतिशत भूभागमध्ये २० प्रतिशत भूभाग अजिंगरजस्तो बेरिएर कलकल मैदानको बीचबाट बग्ने कैलाश खोलाले ओगटेको छ । यो पर्यटकहरूका लागि स्मारिक मानिने भूमि अकासे भीरमा बांगे छहरा अनि गणचुच्चे र रोशन गडा हेर्नलायक छन् ।

रामारोशनमा पुग्दा धेरैजसो त्यतै बसौंबसौं जस्तो हुने मन अझ त्यहाँबाट दक्षिणमा पर्ने दुइटा ताल हेर्दा मन झन् उकुसमुकुस हुन्छ । त्यस क्षेत्रमा पर्ने लामा दह तालको पनि आफ्नै फरक महŒव छ । यो ताल नामबाटै प्रस्ट भएजस्तो भए पनि तालको नाम वैज्ञानिकतामा आधारित छ । तर लामा दह लामो दह मात्र छैन, यो ताल निर्मल रोशन गडामा पर्दछ । चौतर्फी हरियो घाँस र दुईतिरबाट डाँडा तलतिरसम्म परेको मैदानमा पर्ने लामा दह करिब दुई किलोमिटरभन्दा बढी लामो र अदृश्य गहिराइमा छ । लालीगुराँसको सजिसजाउ अनि छेउमा जाँदा १० मिटरसम्म जलथल हल्लिने यो तालबाट गोरेकोट, बागफाला चिन्डोन र चाखाको चुचुरो रोचकताका साथ देख्न सकिन्छ । चिन्डेनीबाट बगेर आउने सानोखोला लामा दहमा मिसिएको छ भने त्यसैसँग जोडिएको अर्को जिल्ला कालिकोट जाने र आउने पाहुनाका लागि मौकाको बाटो पर्दछ । सयौं हिउँद र वसन्तमा एक्लै बसेर दिन काटिरहेको लामा दह ताल अब भने त्यहाँका गोठालासँग गीत गाउँदै रमाएजस्तो मनोरम दृश्य जीवजन्तुलाई आँखाको सभ्य नानीले सजाउन सकिन्छ । यो तालको नाम यसो किन रह्यो होला भन्ने कुराको खोजी गर्दा गोठालाहरूको सल्लाहमा आजभन्दा दसौं वर्षअगाडि लामो भएकाले त्यसको नाम लामा दह भन्ने रहन गएको भन्ने सुनिन्छ । यो ताल रोशन गडाबाट पूर्वमा पर्दछ । पर्यटकीय चिनारीका रूपमा स्थापित रामारोशनका रोशन गडाको छेउ चौतर्फी हरियो जंगल र अगाडि मुसुक्क हाँसेको पडीपाखा र अकासे भीरको मुहारदेखि रहने जिँगाले तालले अझ यसको महŒवलाई राम्रोसँग प्रस्ट्याएको छ । करिब तीन किलोमिटर लामो र दुई किलोमिटर चौडाइ अनि नाप यकिन नभएको गहिराइमा रहेको यो तालको बीचमा तीनवटा खम्बा । पश्चिमपट्टि बाबु नरपति बुढा र छोरा आउँसे बुढाले व्यक्तिगत लगानी गरेर बनाएको एउटा मन्दिर छ, जुन हाल जीर्ण अवस्थामा छ । यो तालको चौतर्फी भ्रमण गर्दा करिब एक दिन लाग्छ । छेउछाउमा दलदल छ । त्यसैको छेउबाट कालिकोट जाने बाटो छ । बूढापाकाहरूको भनाइअनुसार सुरुवालजस्तो भएकाले यसको नाम जिँगाले रहन गएको हो ।

रामारोशनमा एक अर्को सौन्र्दयको नमुना हो चाखाडाँडा । यो चाखाडाँडा यहाँको सबैभन्दा उच्च ठाउँमा अवस्थित छ । यसको महŒव रामारोशनलाई चम्किलो पार्न‘ मात्र नभई झन् अछामी कमेरोले पोतिएको सेताम्य बस्तीलाई नै खिसिक्क हँसाउनु पनि हो । चाखा भन्ने चुचुरोमा बडिमालिकाको सहायक थान छ, जसलाई चाखा मन्दिर पनि भन्दछन् । पूर्वजहरूको भनाइअनुसार यात्रुहरूले सो मन्दिरमा दर्शन गरेर त्यहाँबाट बडिमालिका जाने बाटो अघि बढ्दछ । रोचक चाखाको डाँडालाई काँध हाल्ने र यो उच्चतामा पु¥याउने रामारोशन पडीपाखा अकासे भीर गोली हाल्ने गडाबड्डा खोलाका शिर पर्दछ । घोरल, झारल, थार, बँदेल, रतुवा, कस्तूरी, डाँफेजस्ता जनावर र चराचुरुंगीले यसलाई आकर्षण दिने पर्दछन् । चाखाको चुचुरोमा पुग्यो भने फुच्चेजस्ता लाग्ने गाउँका डाँडा र भीरपाखालाई इतिहासले आफ्नो पेजमा सजाएको छ भन्न सकिन्छ । सयौं जडीबुटीको बारी नै लाग्ने यो क्षेत्र कताकता स्वर्गको मीठो सपना सजाउनेहरूका लागि विपनामा नै परिणत भएजस्तो अनुभूत गर्न सकिन्छ । त्यसैले पनि चाखाडाँडा पर्यटकीय सौन्दर्यको अर्को आकर्षण केन्द्र मानिन्छ । ठूलाठूला रूखहरू नभेट्टाइने नांगो चुचुरोबाट राति चिसापानी, नेपालगन्ज, महेन्द्रनगरमा बत्ती बलेको सहजै देख्न सकिने स्थानियवासी बताउँछन् । एकताका राजारजौटाले युद्ध गर्दा बस्ने गरेका कोटजस्तो लाग्ने यो स्थलमा अचम्मका ढुंगाहरू र चारैतिर रस्सी बेरेजस्तो ससाना गडाको आकर्षण कुनै जमानाका मान्छेहरूले बनाएको जस्तो लाग्दछन् ।

रामारोशनमा पुग्दा धेरैजसो त्यतै बसौंबसौं जस्तो हुने मन अझ त्यहाँबाट दक्षिणमा पर्ने दुइटा ताल हेर्दा मन झन् उकुसमुकुस हुन्छ । त्यस क्षेत्रमा पर्ने लामा दह तालको पनि आफ्नै फरक महŒव छ ।

चुचुरोबाट एक किलोमिटर फेदीमा चिराचिरा भएर बगेका खोलाहरू देखिन्छन् । पूर्वमा मुहार फर्काएर उभिएको चहकिलो चाखा हिमाल पुसमाघमा हिउँ प¥यो भने पोखराको माछापुच्छ«ेजस्तो सेताम्य देख्दा बाह्रै महिना सेतै रहे हुन्थ्यो भन्ने मनमा लाग्दछ । रामारोशनको सौन्दर्यलाई उत्कर्षमा पु¥याउने किनिमिनी मैदान पनि एक हो । सयौं बिघाको यो मैदानी भूगोल वल्लो र पल्लो सैन गरी दुई सैनमा विभाजित छ । रोशनगडाको बीचमा बग्दै आएको कैलाश खोला किनिमिनीको मैदानबीच भयानक अजिंगर बेरिएजसरी कलकल बगेको दृश्य प्रकृतिकै अनुपम उपहार साबित भएको छ । चारैतिर हरियो वनजंगल अनि ठूलाठूला ढुंगाहरूको गजमज्जताले भरिभराउ देखिने यो स्थलको सिरानीमा चाखाडाँडा चिल्खाया र बाटुल्लाका शिरहरू उत्तर भ्याउने गैराका उराठलाग्दा भयानक गुफा र हरियो वनजंगलका उकालीओराली रहेका छन् । चारैतिर डाँडाकाँडाले घेरेर बीचमा सम्म परेको किनिमिनी मैदानलाई रामारोशन उपत्यका भन्दा फरक नपर्ला । किनिमिनीबारे बुझ्न खोज्दा यो मैदान कुनैबेला ताल थियो भन्ने स्थानीय वृद्ध बासिन्दाको भनाइ छ । त्यो मैदानबाट बग्ने कैलाश खोला रामारोशन हुँदै औंलाघाट छहरामा पुग्दछ ।

लहलहाउँदा रुखका पातहरू आकाशै छोएको जस्तो देखिने चाखा पहाड डडिल्लाको थुम्का र गोली हान्ने गडाको डाँडासम्म जोडिएको किनिमिनीको पश्चिम उत्तरमा पर्ने सिदुरे रङका सरुको साइनो बाबुछोराको जस्तो छ । सुन्दर किनिमिनीको मैदानमा यातायातको व्यवस्था मिलाउन सकिए यहाँका जनताको आर्थिक तथा सामाजिक परिवर्तनका साथै देशविदेशका पर्यटक भिœयाउन ठूलो मद्दत पुग्नेछ । पर्यटकीय, धार्मिक र ऐतिहासिक अनुसन्धान गर्न पनि अति महŒवपूर्ण स्थानका रूपमा विकास गर्न सकिने रामारोशन क्षेत्रलाई सिमसार क्षेत्रमा पनि हेर्न सकिने अछाम उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रप्रसाद ढुंगाना बताउँछन् । तर कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भनेझैं त्यति सुन्दर र रोमाञ्चक रोशन गडामा गाई र भैंसीपालनमा उपयोग गर्नुभन्दा अर्को नयाँ काम त्यस क्षेत्रमा हुन नसक्नु अछाम र अछामी जनताका लागि विडम्बनाको कुरा हो । रामारोशनको पर्यटन प्रवद्र्धनका लागि एकदुईपटक प्रयास पनि भएका थिए । अछाम उद्योग वाणिज्य संघको पहलमा रामारोशन महोत्सवका साथै गन्तव्य रामारोशनको आयोजनासमेत गरिएको थियो । तर राज्यको ध्यान नपुग्दा रामारोशन अझै पर्यटकका लागी गन्तव्य बन्न सकिरहेको छैन ।

रामारोशन क्षेत्रमा पाइने स्थानीय परिकार कोदो, फाँपर, मकैको रोटी, सिस्नोको साग, स्थानीय धानको भात, माछा, दही, दूध घिउ, मह आदि हुन् । रामारोशन पुग्न विभिन्न रुट प्रयोग गर्न सकिन्छ । पहिलो रुटअन्तर्गत धनगढी, दीपायल, साँफेबगर हुँदै तिमिल्सैनसम्म पक्की सडक भएकाले गाडीमा आउनजान सकिन्छ । तिमिल्सैनबाट कच्ची सडक भएकाले वर्षात्को समयबाहेक अन्य बेला रामारोशनसम्म जिप, मोटरसाइकल र ट्र्याक्टरहरू पुग्छन् । यस रुटमा आउने क्रममा डडेल्धुराका उग्रतारा र अमरगढी किल्ला, डोटीको शैलेश्वरी, अछामका वैद्यनाथलगायत धार्मिक तथा पर्यटकीय स्थानहरू भेट्न सकिन्छ ।
धनगढी, दीपायल हुँदै खप्तड जाँदा त्यहाँबाट रामारोशनसम्म आउने अर्को पैदल रुट पनि दोस्रो रूट हो । यस रुटअन्तर्गत बीचमा अछाम तथा बाजुराका मनोरम दृश्य अवलोकन गर्न पाइन्छ । तेस्रो रुटअन्तर्गत काठमाडौं, सुर्खेत, अछामको विनायक हँुदै मंगलसेन, वलीगाउँसम्म गाडीमा र त्यहाँबाट हिँडेर शान्तडा हुँदै रामारोशन पुग्न सकिन्छ । यस रुटमा सुर्खेतका बुलबुले ताल, धार्मिक स्थान, माथिल्लो कर्णाली आयोजना स्थल, विनायक पञ्चदेवललगायतको अवलोकन गर्न सकिन्छ । चौथो रुट हो, सुर्खेत हुँदै कालिकोटसम्म जाने र त्यहाँबाट हिँडेर रामारोशन पुग्ने । यो रुटमा धेरै हिँड्नुपर्ने भएकाले अलि असहज र जंगलको बाटो हिँड्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्