तबल बढ्दैन, महँगी बढेको बढ्यै ! « Drishti News – Nepalese News Portal
Logo

तबल बढ्दैन, महँगी बढेको बढ्यै !


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत मूल्य वृद्धि २ दशमलव ७० प्रतिशतले बढ्दा तलब तथा ज्यालाको सूचकांक भने १ दशमलव ७७ प्रतिशतले मात्र बढेको छ ।

यसअवधिमा तलबको वृद्धि शून्य भए पनि ज्यालाको वृद्धि बढी हुँदा समग्रमा तलब तथा ज्याला वृद्धि भएको देखिएको हो । राष्ट्र बैंकका अनुसार समग्रमा तलब तथा ज्यालादर बढी देखिनुको कारण गत माघ महीनामा २ दशमलव २७ प्रतिशतले ज्यालाको दर बढेकाले हो तर यसअवधिमा तलबको वृद्धिदर शून्य देखिएको छ ।

सामान्यतया महँगी अर्थात् मूल्यवृद्धि (मुद्रास्फीति) बढेअनुसार तलब र ज्यालाको वृद्धिदर हुनुपर्छ । कोभिड–१९ का कारण अधिकांशले जागीर गुमाउनु परेको छ भने कतिपयले खाइपाई आएको तलब कटौती हुँदा महँगीको तुलनामा तलब बढ्न नसकेको सरोकारवालाहरू औंल्याउँछन् ।

समग्रमा तलब तथा ज्याला वृद्धिको सूचकांक गतवर्षको माघभन्दा पनि अहिले धेरै कम हो । गत माघ महीनामा उक्त सूचकांक ७ दशमलव ५१ प्रतिशतले बढेको थियो । यसअवधिमा ज्याला भने करीब मूल्यवृद्धिको नजीक आउन खोजेको देखिन्छ तर पनि सोही अनुपातमा छैन । आजको आर्थिक अभियान दैनिकमा यो समाचार ममता थापाले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्