Logo
Logo

भागरथी बलात्कार र हत्यामा नयाँ ट्वीस्टः ‘दबाबमा हत्या स्वीकारें’

प्रहरी भन्छ– दिनेश विरुद्ध प्रशस्तै आधार छ


दृष्टि संवाददाता


बैतडी । भागरथीको बलात्कार र हत्या प्रकरणमा आएको नयाँ बयानको अर्थ नभएको प्रहरीले बताएको छ । सुधार गृहमा रहेका हत्या आरोपी दिनेश भट्टले आफूले दबाबका कारण बलात्कारपछि हत्या गरेको स्वीकार गर्नुपरेको बताएको उनका बुबाले पत्रकार सम्मेलन गरेरै बताएका छन् ।

आरोपी दिनेश भट्ट र मृतक भागिरथी

उनले दोगडाकेदार–७ कै वडाका एक कर्मचारीले धम्क्याएर आरोप स्वीकार गर्न बाध्य पारेको बताए । उनको यो विवादास्पद बयानको कुनै तुक नरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । धम्क्याएर आरोप स्वीकार गर्नुपरेको भन्ने भनाइमा प्रदेश प्रहरी कार्यालयले ‘आत्मसन्तुष्टि’को संज्ञा दिएको छ । ‘यसमा कुनै तुक छैन ।

हिजो अदालतमा बयान दिनेक्रममा होस् वा घटनाको अनुसन्धानका बेला यो विषय किन ल्याइएन ? अकस्मात अहिले किन यो प्रसंग आयो ? यो कुराको कुनै अर्थ छैन ।’ एक प्रहरी अधिकारीले भने ।

अहिले आफ्नो परिवारको एक सदस्यलाई जोगाउने गरी कुरा उठाइएको प्रहरी अधिकारीले बताएका छन् । त्यसबाहेक केही व्यक्ति वा समूहले त्यो परिवारलाई उचालेर लाभ लिन खोजेको पनि प्रहरीको भनाइ छ ।

यो विषय अदालतमा पुगेका कारण प्रहरी अधिकारीहरुले थप बोल्न नमिल्ने बताएका छन् । अभियुक्तको बयान, घटनास्थलको मुचुल्का, आरोपीकै बयान र घटनास्थलमा भेटिएका घडी लगायतका सामानहरुले दिनेशकै संलग्नता भएको पुष्टि गरेको प्रहरी दाबी छ ।

प्राविधिक परीक्षणहरुले पनि उसकै संलग्नता भएको प्रहरीले बताएको छ । घटनाको अनुसन्धानका क्रममा भागरथीको भेजाइनल स्वावको नमुना परीक्षण र आरोपीको डीएनए स्याम्पल पनि परीक्षणका लागि पठाइएको थियो ।

आरोपी दिनेश यतिबेला दिपायमा रहेको बालसुधार गृहमा छन् । उनले जिल्ला न्यायाधीशसमक्ष दिएको बयानमा बलात्कारपछि हत्या गरेको स्वीकार गरेका थिए । यो मुद्दा अहिले जिल्ला अदालत बैतडीमा विचाराधिन छ ।

गत माघ २१ गते विद्यालय गएकी भागरथी भट्टको भोलिपल्ट खोचलेक—चडेपानी ग्रामीण सडकबाट ३० मिटर तल वनमाराको झाडीमा शव फेला परेको थियो । प्रहरीले दिनेशलाई उनको बलात्कार र हत्या गरेको आरोपमा दिनेशलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्