Logo
Logo

जलवायु परिवर्तनको असरः घट्न थाले हिमालमा हिउँ


दृष्टि संवाददाता


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ वैज्ञानिक डा. मदनलाल श्रेष्ठ विश्वमा तापक्रम बढ्दै गएको बताउँछन् । सन् १८५०–१९०० को तापक्रम वृद्धिको मापदण्डअनुसार विश्वव्यापी रूपमै सन् २०२० एक तातो वर्ष बनेको विश्व मौसम सङ्गठनले जनाएको छ ।

पहिलेको तापक्रम बढोत्तरीका आधारमा अन्य वर्षभन्दा यस वर्ष विभिन्न भूभागमा गरेर ०.१ देखि १.२ डिग्री सेन्टिग्रेडसम्म तापक्रम वृद्धि भएको अनुमान गरिएको छ ।

समुद्रको जलवाष्प नउडेसम्म पानी पर्दैन, पानी नपरे विश्व जलवायुमा सीधै असर पर्छ । यसकारण मौसममा परिवर्तन आएर मानव जीवन प्रभावित हुने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेल बताउँछिन् । कँडेलले भनिन्, “विश्वको जलवायु परिवर्तन र प्रदूषणका कारण ओजन तहको विनाश, हिमालमा हिउँको कमी, समुद्री सतहको वृद्धिजस्ता प्रत्यक्ष असर परेको छ ।”

पछिल्लो मौसमी चक्रले नेपालसहित विश्वकै मौसम र जलवायुमा परिवर्तन आइरहेको मौसमविद् कँडेल औँल्याउँछिन् । मौसम परिवर्तन भन्नाले छोटो समयको वातावरणीय अवस्थालाई बुझिन्छ । जलवायु परिवर्तन भन्नाले १० वर्षदेखि माथिको मौसमी परिवर्तनलाई बुझाउँछ ।

उनका अनुसार नेपालको मौसम तथा जलवायु परिवर्तनमा विगतभन्दा अत्यधिक परिवर्तन आएको छ । पहिले सिमसिमे पानी लगातार परेर चिसो र आर्द्रता लामो समय सतहका रहन्थ्यो तर अचेल कहिले भारी वर्षा हुने, कहिले खडेरी नै लाग्ने हुन थालेको छ । यस्ता अतिवृष्टि, अनावृष्टिले बाढी, पहिरो, चट्याङ, हावाहुरीजस्ता प्राकृतिक विपत्तिको बढोत्तरी नेपालमा भएको छ ।

नेपालको जलवायु प्रवृत्ति विश्लेषण १९७१ देखि २०१४ नामक प्रतिवेदनअनुसार त्यो ४४ वर्षको मौसम फेरबदलको प्रवृत्ति हेर्दा प्रतिवर्ष ०.०५६ डिग्री सेल्सियस अधिकतम र ०.००२ डिग्री सेल्सियस न्यूनतमका दरले तापक्रम वृद्धि भइरहेको वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्