Logo
Logo

अकूत कमाएका नै विभागका हाकिम


दृष्टि संवाददाता


काठमाडौं । अकूत कमाएपछि सम्पत्ति जोगाउन कतिपय कर्मचारीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने गर्दछन् । त्यस्तै प्रवृत्ति सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत देखिएको छ । अकुत सम्पत्ति आर्जन गरेकाहरु नै विभागमा पावर लगाएर जाने गरेका छन् ।

अहिले विभागको महानिर्देशक बनेका सहसचिव गजेन्द्र कुमार ठाकुर पनि करोडपति कर्मचारीका रुपमा चिनिन्छन् । गत वर्ष उनी एयरपोर्ट भन्सारको हाकिम थिए । त्यहाँ हुँदा सुन तस्करीको अभियोगमा पक्राउ परेकासँग साँठगाँठ गरेर करोडौं कमाएको भन्सार कर्मचारीहरु बताउँछन् । उनैलाई सम्पत्ति शुद्धीकरण जस्तो महत्वपूर्ण विभागको जिम्मेवारी दिइएको छ ।

विभागमा हाइप्रोफाइलमाथि अनुसन्धान भइरहेको छ । अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातको अनुसन्धान सकिएपनि मुद्दा दायर हुन सकेको छैन । त्यस्तै नेपाल इन्जिनियरीङ कलेजका पूर्व सञ्चालक लम्बोधर न्यौपानेको फाइल पनि रोकिएको छ । सबै मेडिकल कलेजका सञ्चालकमाथि अनुसन्धान भइरहेकोमा बार्गेनिङको काम भइरहेको विभाग स्रोत बताउँछ । सेटिङका कारण विभागले ठूला मुद्दा चलाउन सकेको छैन । अझै आफू अकुत सम्पत्ति कमाएमा महानिर्देशक गएपछि विभागमा झन् अनियमितता बढ्ने देखिएको छ ।

राजश्व अनुसन्धान विभागमा पनि त्यस्तै देखिएको छ । राजश्वको धेरै अनुभव नभएका राम प्रसाद आचार्यलाई विभागमा पठाइएको छ । उनी यसअघि रक्षा मन्त्रालयमा थिए । गृह मन्त्रालयमा सचिव महेश्वर न्यौपानेसँग कुरा नमिलेपछि उनको रक्षामा सरुवा भएको थियो । विभागका उपमहानिर्देशक शिवलाल तिवारी पनि राजश्वको अनुभव नभएका कर्मचारी हुन् । यी दुवै विभाग प्रधानमन्त्री कार्यालय मातहत लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्