Logo
Logo

‘कोरोना पुनः फैलिए भयावह अवस्था आउन सक्छ’


रवीन्द्र पाण्डे, जनस्वास्थ्यविज्ञ


काठमाडाैं । भारतका विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण बढेसँगै सीमा जोडिएको मुलुक नेपालमा पनि संक्रमणको जोखिम बढेको छ । नेपालमा पनि कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै सरकारले भीडभाड, सभा, सम्मेलन नगर्न आग्र्रह गरेको छ । सर्तकताका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मातहतका निकायलाई १० बुँदे निर्देशन दिएको छ । के नेपालमा पुनः कोरोना संक्रमण फैलन सक्छ ? रोक्न कसरी सकिन्छ ? विषयमा जनस्वास्थ्यविज्ञ रवीन्द्र पाण्डेसँग दृष्टिकर्मी प्रदीपराज दाहालले गरेको कुराकानी प्रस्तुत छ ।

भारतमा पुनः कोरोना संक्रमित बढेका छन् । नेपालमा के होला ?

यसअघि पनि लापरवाहीका कारण नेपालमा संक्रमणको दर बढ्यो । फेरि भारतबाट नेपालमा संक्रमण फैलने अवस्था बनेको छ । दैनिक पाँच हजारसम्म नेपाल–भारत आवतजावत हुन्छ । यस्तो अवस्थामा संक्रमण नफैलिएला भन्न सकिँदैन ।

 संक्रमण नेपाल भित्रन नदिन के गर्नुपर्छ ?

हामीले गत वर्षबाट पाठ सिक्नुपर्छ । गत वर्ष यही समयमा नेपालमा कोरोना भाइरसको संक्रमण देखिन थालिसकेको थियो । यस्तो अवस्था पुनः आउन नदिन सरकारले अहिलेदेखि नै तयारी थाल्नुपर्छ । सकेसम्म मुख्य नाका बाहेक अन्य नाकाबाट आवतजावत रोक्नुपर्छ । सबै सीमामा हेल्थ डेस्क स्थापना गर्नुपर्छ । गत वर्ष सीमामा व्यवस्थित हेल्थ डेस्क नहुँदा समूदायमा कोरोना फैलिएको थियो । र्यापिड एन्टिजेन टेस्टलाई सुरु गर्नुपर्छ । १० मिनेटमा नै यसले नतिजा दिने हुँदा त्यसको आधारमा क्वारेन्टिनमा राख्ने वा आवश्यकताअनुसार पीसीआर परीक्षण गर्नुपर्छ ।

होली नजिकिएको छ । मानिसको भीडभाड हुनसक्छ । यस्तो अवस्थामा संक्रमण झन् फैलिएला नि ?

होली, तराईको विशेष पर्व हो । तर, पनि गत साल जस्तै संक्रमण रोक्न यसवर्ष पनि घरमै पर्व मनाए राम्रो हुन्छ । सीमा जोडिएका अधिकांश जिल्लामा होली मनाउन भारतबाट नेपाल आउने चलन छ । यस्तो अवस्थामा भारतबाट पुनः नेपालमा संक्रमण फैलन सक्ने खतरा हुन्छ । त्यसैले सम्भव भएसम्म होली नमनाए राम्रो होला ।

जोखिम न्यूनीकरण गर्न सरकारले के गर्नुपर्छ ?

महामारी रोकथामका लागि सरकारले गत वर्ष व्यवस्थित काम गर्न सकेन । अब पनि सोही गल्ती दोहोर्याए संक्रमणले पुनः भयावह रूप लिन सक्छ । हामीसँग महामारी नियन्त्रण गर्नका लागि धेरै समय छ । यो समय सदुपयोग गर्दै सरकारले व्यवस्थित तयारी गर्नुपर्छ ।

सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्छ । जुनसुकै बेला संक्रमितलाई अस्पताल लैजाने र उपचार गर्न मिल्ने व्यवस्था गर्नुपर्छ । विशेष गरी सीमा क्षेत्रमा परीक्षण र क्वारेन्टिनलाई व्यवस्थित बनाउनुपर्छ ।

कोरोनाविरुद्धको खोप लगाएकालाई कोरोना लाग्छ कि लाग्दैन ?

कोरोना भाइरसविरुद्धका खोपहरू परीक्षण प्रयोगको क्रममा छन् । त्यसैले यि खोपबाट ढुक्क हुने स्थिति छैन । तर, खोप लगाएपछि संक्रमण भएपनि गम्भीर बिरामी पर्ने सम्भावना कम हुन्छ । त्यसैले खोप लगाएकाहरूले पनि भीडभाडमा नजाने, मास्क अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, बेलाबेला साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य मापदण्ड पालनालाई निरन्तरता दिने ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन निकै समस्या छ । यस्तो अवस्थामा कसरी सम्भव होला ?

सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न उर्दी जारी गरेपनि नागरिक स्तरबाट पालना हुने अवस्था छैन । धेरैले कोरोना केही होइन भन्न थालेका छन् । सरकार र राजनीतिक दलबाटै पनि मापदण्ड उल्लंघन गर्दै सभा, सम्मेलन र जुलुस भइरहेका छन् । त्यसैले स्वास्थ्य मापदण्ड पालना गराउन सरकारलाई चुनौती थपिएको छ । गृह मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गर्नुपर्छ । कम्तिमा मास्क अनिवार्य गर्नु सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्