Logo
Logo

भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिन थाल्यो


दृष्टि संवाददाता


काठमाडौं । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् ।

स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण गर्दा पछिल्लो दुई दिनमा १४ जनामा संक्रमण पुष्टि भएको नाकास्थित हेल्थ डेस्कमा खटिएका स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी अमित विकले बताए ।

अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिर लागेका थिए । अहिले भारतमा पुनः पहिलेकै जस्तो अवस्था दोहोरिन थालेपछि उनीहरू धमाधम घर फर्कन थालेका हुन् । ‘उनीहरूसँगै कोरोना पनि भित्रिने डर भयो,’ विकले भने, ‘मंगलबार ६ जनामा पोजिटिभ देखियो, बुधबार ८ जना संक्रमित फेला परका छन् ।’ उनीहरूलाई होम क्वारन्टाइनमा बस्न भनिएको छ । हालसम्म कुनैलक्षण नदखिएको संक्रमितहरूले बताएको उनले सुनाए ।

घर फर्कनेको संख्या बढेपछि चैत पहिलो सातादेखि स्वास्थ्य कार्यालयले सीमामा हेल्थ डेस्क राखेर परीक्षणपछि मात्रै प्रवेश गर्न दिएको छ । ‘बुधबार १ सय २८ जनाको परीक्षण गरका थियौँ’ स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले भने, ‘मंगलबार २ सय १७ जनाको परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको थियो ।’

यो नाका भएर स्वदेश फर्कनेको संख्या एक साताअघिसम्म दैनिक ५ सयको हाराहारी थियो । मंगलबारदेखि भने ह्वात्तै बढेको छ । सशस्त्र प्रहरी ३४ नम्बर गणका एसपी दीपेन्द्र कुँवरले बुधबार यो संख्या एक हजार नाघेको दाबी गरे । अहिले भारतको दिल्ली, मुम्बई, गुजरात, चेन्नईलगायत मुख्य सहरमा संक्रमण फेरि ब्यापक फैलिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्