Logo
Logo

नेपालपक्ष स्पष्टीकरण दिने तयारीमा: खुला जवाफ दिने, ओलीलाई प्रश्न समेत सोधिने


दृष्टि संवाददाता


काठमाडौं । बरिष्ठ नेता माधवकुमार नेपालसहित नेकपा (एमाले)का ४ नेताले केपी शर्मा ओली पक्षले मागेको स्पष्टीकरणको जवाफ सार्वजनिक रुपमा दिने भएका छन् ।

पार्टीभित्रको अन्तर-संघर्ष राजनीतिक विषय भएकाले त्यसैअनुसार राजनीतिक विषयवस्तू बनाई सार्वजनिक रुपमा जवाफ दिने भएका हुन् । सँगसँगै अध्यक्ष ओलीलाई माधव नेपालपक्षले प्रश्न पनि गर्ने तयारी गरेका छन् ।

नेपाल पक्षका एकजना स्थायी कमिटी सदस्यले स्पष्टीकरण भनेको राजनीतिक विषय भएकाले त्यसैअनुसारको जवाफ जाने बताए । उनले भने, ‘स्पष्टीकरण मागिएको विषय सार्वजनिक गरिएको छ। जवाफ पनि खुला रूपमै दिन्छौं,’ उनले निर्धारित समयभित्रै स्पष्टीकरण दिँदै प्रश्न सोध्ने, छुट्टाछुट्टै जवाफ दिने सल्लाह भएको पनि बताए ।

महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री निवास (बालुवाटार) मा बसेको एमाले केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टीको हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै वरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई विभिन्न प्रश्नसहितको पत्र सोमबार पठाएका थिए।

उनीहरूले त्यसैको जवाफ सार्वजनिक रूपमा पेस गर्ने भएका हुन्। जसमा पार्टी एकताको असफलता, संसद् विघटन र पुनर्स्थापनलगायतका विषय रहने नेताहरूले बताएका छन्। साथै ओली सरकारले गरेका अनियमिततासमेत जवाफमा समेटिने एक नेताको भनाई छ ।

सोतका अनुसार बुधबार नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरूको बैठक बसेको थियो। मनमैजुस्थित एक नेताको घरमा बसेर उनीहरूले आगामी रणनीतिका विषयमा बृहत् छलफल गरेका हुन्।

आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलमै रहेको र ठोस निर्णय भइनसकेको उनले बताए । उनले भने, ‘कार्यकर्ता भेलामा उठेका विषयलाई ध्यानमै राखेर आगामी कदमबारे निर्णय हुनेछ।’

प्रतिक्रिया दिनुहोस्