Logo
Logo

सीमानाकामा घर फर्किनेको भिड, कैलालीमा आंशिक निषेधाज्ञा जारी


हिक्मत बम


धनगढी । भारतमा फेरी कोरोना संक्रमण बढ्न थालेपछि रोजगारीको शिलशिलामा भारतका विभिन्न सहरमा गएका सुदूरपश्चिमेलीहरु घर फर्किन थालेका छ । जसले गर्दा सीमानाकामा केहि समययता भिडभाड बढेको देखिन्छ ।

अघिल्लो बर्ष कोरोनाको डरले घर फर्किएका सुदूरपश्चिमेलीहरु रोजगारीको लागि फेरी भारतका विभिन्न सहरहरुमा गएका थिए । भारतमा फेरी कोरोनाको संक्रमणको जोखिम बढ्दै जान थालेपछि घर फर्किनेहरुको सीमानाकामा भिड लाग्न थालेको छ । अहिले भारतमा कोरोनाको दोस्रो चरणको महामारी फैलिन थालेपछि उनीहरु घर फर्कन थालेका हुन । जसले गर्दा नेपालमा पनि कोरोनाको जोखिम बढ्ने देखिन्छ ।

एक हप्ता अगाडी भारत जानको लागि कैलालीको गौरिफन्टा नाका र कञ्चनपुरको गड्डा चौकी सीमानाकामा रोजगारीको लागि भारत जानेहरुको निकै भिड देखिन्थ्यो । तर केहि समययता भारतमा कोरोनाको दोस्रो संक्रमण देखा परेपछि सीमानाकामा भारत जानेको भन्दा पनि नेपाल फर्किनेको भिड लाग्न थालेको छ । भारतको राजधानी दिल्ली, ठूला सहर मुम्बई, गुजरात, चेन्नईसहितका प्रदेशहरुमा कोरोनाका बिरामी बढेपछि नेपालीहरु स्वदेश फर्किने क्रम बढेको हो ।

कोरोनाको दोस्रो चरणको महामारी फैलिन थालेपछि भारत सरकारले प्रभावित प्रदेशमा लकडाउन गर्ने संकेत गरेपछि नेपालीहरु घर फर्किन थालेका छन । कोरोनाको पहिलो चरणको भाइरस भन्दा पछिल्लो समय देखिएको कोरोना भाइरस अझ खतरनाक रहेको भनिएपछि नेपालीहरु घर फर्किन क्रम बढेको हो । जसले गर्दा सीमानाकामा पछिल्लो केहि दिनयता घर फर्किने नेपालीको संख्या दैनिक बढिरहेको छ ।

कैलालीमा निषेधाज्ञा जारी
कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले भेला, जात्रा, पर्व, भिडभाड गर्न, महोत्सव, जुलुस, मेला लगाउनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक विज्ञप्ति जारी गर्दै कैलाली जिल्लाभर होलीमा भिडभाड रोक लगाइएको हो ।

भारतमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि नेपालमा पनि संक्रमणको उच्च जोखिम हुने भन्दै कैलाली जिल्ला प्रशासनले सुरक्षा व्यवस्था कडा गरेको छ । जिल्ला सुरक्षा समिति र जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयले स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आदेश जारी गरेका छन् । यस्तै, बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन दिएको छ । भारतसँग सीमा जोडिएकाले भारतबाट आउने नागरिकको एन्टिजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ ।

कोभिड १९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले सञ्चालन आएका क्वारेन्टाइन‚ आइसोलेसनलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्र सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत थालिएको छ । आदेशको अवज्ञा गरे कारवाही हुने कैलाली प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्