Logo
Logo

नक्कली नोट बनाउने कारखानामा छापा, महिलासहित दुई पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, १२ चैत ।
प्रहरीले नक्कली नोट छाप्ने र बजारमा फैलाउने दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ बाफल बस्ने मकवानपुर गढी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया माया तामाङ र कीर्तिपुर नगरपालिका–३ बस्ने रौतहट गुजरा नगरपालिका–२ घर भएका ३५ वर्षीय गन बहादुर लोप्चानलाई नक्कली जस्तो देखिने नेपाली नोट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।


काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित फुटपाथमा तरकारी किन्ने क्रममा तामाङले नक्कली नेपाली नोट लिई आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई ५ सय दरको ९ थान नक्कली जस्तो देखिने नेपाली नोट सहित फेला पारी पक्राउ गरेको हो ।
साथै थप अनुसन्धान गर्ने क्रममा प्रहरीले गन बहादुरलाई नियन्त्रणमा लिई उनको कोठा तलासी गर्दा १ हजार दरको ५१ थान, ५ सय दरको ५७ थान, १ सय दरको २ थान नक्कली जस्तो देखिने नेपाली नोट, १ थान प्रिन्टर मेसिन, फोटो कपी पेपर तथा उक्त नोट बनाउन प्रयोग गरिने मेसिन र जाली जस्तो देखिने नोटलाई सक्कली जस्तो देखाउनका लागि सेक्युरिटी थ्रेड बनाउने कच्चा पदार्थ लगायतका विभिन्न सामानहरु फेला पारी बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्