Logo
Logo
दृष्टिकोण

‘प्रचण्ड–माधवहरु मिलेर समाजवादी आचरणको नयाँ पार्टी बन्नुपर्छ’


प्रा. कृष्ण खनाल

253.6k
Shares

  • प्रा. कृष्ण खनाल

‘सेटिङ’का कुरा सुनिन्थे, अस्ति प्रमाणित भयो । असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसलाको क्षतिपूर्ति अर्को फैसलाबाट असुल्ने काम भएको छ ।

पुस ५ गतेको प्रहार जनताले निस्तेज पर्दा अस्थिरता चाहने शक्ति पराजित भयो । तर, फागुन २३ गते नेकपा नै खारेज गरेर त्यसको क्षतिपूर्ति लिने काम भयो । जुन परिघटनाले देश संकटको भूमरिमा फस्यो । आश्चार्य मान्नुपर्छ, केपी ओली गुटमा ब्यापक खुशीयाली छायो ।

माओवादी केन्द्र र एमालेकै माधवकुमार नेपाल समूह जति चिन्तित हुनुपर्ने त्यो देखिएन । त्यो समूह डरमा फस्यो । त्यसको फाइदा लिइरहेका छन्, केपी शर्मा ओली ।

तीन वर्षअघि नेकपा एमाले र नेकपा माओवादी एकता भएर नेकपा बनेपछि नेकपा एमालेको ‘च्याप्टर क्लोज’ भइसकेको हो । अहिले १५ वर्ष महासचिव भएको हुँ भन्ने भनेर माधवकुमार नेपालले रोइकराई गर्नुपर्ने कारण छैन । नचाहिने भावना र निरीहताको विलौना गर्नुको अर्थ हुँदैन ।

माधव नेपालहरु अगाडि बढ्न नसक्दा केपी ओलीको एक्लौटी मञ्चन हावी छ । राष्ट्रिय भेला गरेर माधव–झलनाथ समूहले एउटा राम्रो प्रयास गरेका हुन् । तर, त्यसलाई निरन्तरता दिँदै ‘एक्सन’मा नजानु समस्या हो । यसले ओलीको मनोबल झन् बढेको छ । माधव समूहमा प्रहार झन् बढ्ने छ ।

ओली एमालेका एक्लो खेलाडी, एक्लो रेफ्री भएका छन् । आफूबाहेक अरुको अस्तित्व स्वीकारर्न सक्दैनन् । तर, समग्र राजनीतिमा त्यो सम्भव छैन । सम्भव भए एमालेभित्र सम्भव छ । त्यो पनि माधव–झलनाथहरु यसरी नै लुरुक्क पर्दा मात्र । ओली झन्–झन् उग्र बन्दै जानु र माधवहरु झन्–झन् लाचार बन्दै जानुले एमाले संकटमा फसेको छ । यसले दुर्घटनातर्फ लैजान्छ । माधव–झलनाथहरुसँग दुई विकल्प छन् ।

एक, ओलीसँग आत्मसमर्पण गर्ने । दुई, सशक्त प्रतिरोध गरेर एमाले बचाउने । यसका दुई परिणाम हुन्छन् । ओलीसँग आत्मसमर्पण गर्दा एमालेमात्र नभर कम्युनिष्ट आन्दोलन नै संकटमा पर्छ । यदि, सशक्त प्रतिरोध गर्ने हो भने ओली अतिवाद पराजित हुन्छ र नयाँ राजनीतिक कोर्ष सुरु हुन्छ । जसले कम्युनिष्ट आन्दोलनलाई एउटा स्थानमा पुर्याउँछ । यसका लागि माधवहरुले पार्टी विभाजनको अवस्थालाई पनि स्वीकार गर्न सक्नुपर्छ ।

माधव–झलनाथहरुसँग कमजोर मानसिकता देखिएको छ । बलियो संगठन, धेरै कार्यकर्ता एमालेमा रहेको भन्ने माधव पक्षको बुझाइमै लघुताभाष छ । सुरुमा कम्युनिष्ट पार्टी गठन हुँदा सन् १९४९ मा कति मानिस थिए ? त्यो विचार गर्नुपर्छ । यहाँ लघुताभास छ ।

यतिवेला राजनीति चलायमान हुन सकेको छैन, ओलीमा गएर हलो अड्कियो भनेर बस्नु उति होइन । ओलीको गतिविधि एमालेको लागि मात्र होइन, देशकै लागि खतरा हो ।

ओली अतिवादले जुन गम्भीर परिस्थिति बन्यो, त्यसविरुद्ध लड्नुको विकल्प हुँदैन । राजनीतिक संकटबाट मुलुकलाई निकास दिन सक्नुपर्छ । नसक्ने भए पहिले हंगामा नै गर्नुपर्ने थिएन, ओलीलाई पाँच वर्ष छोडेर स्वीकारेरै बस्नुपथ्र्यो । माधव समूह जति निरीह बनेर बस्छ, त्यति नै बढी क्षति हुँदै जान्छ ।

माओवादी उल्झनको अर्थ
यहाँ अर्को समस्या भनेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्नु हो । समर्थन फिर्ता लिँदा संसद विघटन गर्छ भन्ने कुरा त तर्क नै होइन । उनीहरुले समर्थन फिर्ता गरेर ओलीलाई विश्वासको मत लिन बाध्य पार्नुपर्छ ।

संविधानमा प्रष्ट भनेको छ– ‘समर्थन फिर्ता हुनेवित्तिकै विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएपछि राजीनामा गर्नुपर्छ ।’ यहाँ डराएर राजनीति गरेको देखियो । यसरी राजनीति हुँदैन । यही कमजोर मानसिकता देखेर ओलीको मनोबल बढेको छ । माओवादीले समर्थन फिर्ता लिएपछिको राजनीतिक घटनाक्रममा माओवादी र माधव–झलनाथ एउटै ठाउँमा आइपुग्ने वातावरण बन्ने छ ।

नाम र चिन्हको हाउगुजी
नेकपा विभाजनको संघारमा पुगेदेखि नै पार्टीको नाम र चुनाव चिन्हमा ठूलो उल्झन देखिन्छ । एकथरीले यस्तो प्रचार गरेका छन् कि एमाले र सूर्य भोट पाउने अचुक औषधि हो ! नाम र चुनाव चिन्ह सबथोक होइन । ३० वर्ष अगाडि एमाले भन्ने नै थिएन, ४० वर्ष अघि माले थिएन ।

समय र परिस्थितिले पार्टीका नामहरु परिवर्तन हुन्छन् । विचार, सिद्धान्तले पार्टीलाई स्थापित गर्दै जाने हो । कामले जनताको मन जित्ने हो । यो कुनै भावनासँग जोडिने कुरा पनि होइन । भावनाबाट राजनीति हुँदैन । कहिलेकाँही भावनाका कुरा भइहाले पनि त्यसलाई आवश्यकताका आधारमा नयाँ भावनाले विस्थापित गर्नुपर्छ । नयाँ शक्ति र नयाँ नामसहित अगाडि जान पनि सकिन्छ र त्यसका लागि अठोटको आवश्यकता पर्छ ।

माओवादी–माधव एकतामा नयाँ पार्टी
माओवादी केन्द्र र ओलीइतरका एमाले मिलेर नयाँ राजनीतिक शक्ति गठन सम्भावना नजिक छ । समयको मात्र कुरा हो, यो यर्थाथमै रुपान्तरण हुनसक्छ । अब ढिलो गर्नु हुँदैन ।

एमाले–माओवादी एकतापछि बनेको नेकपा हुँदा एक ठाउँमा रहेर ओली प्रवृत्तिविरुद्ध संघर्ष गरेका प्रचण्ड–माधव एक हुनलाई कुनै कुराले छेक्न सक्दैन । केही प्राविधिक कठिनाइ हुनु स्वभाविक हो । तर, प्राविधिक कठिनाइको बन्धक बन्नु राम्रो हुँदैन ।

प्राविधिक समस्या भनेको माधव समूहलाई पार्टी विभाजन गर्ने या बाहिरिने भन्ने हो । पार्टी विभाजन गर्नका लागि केन्द्रिय कमिटी र संसदीय दलमा ४० प्रतिशत मत आवश्यक हो । केन्द्रिय कमिटीमा ४० प्रतिशत पुगेपनि संसदीय दलमा माधव समूह ४० प्रतिशत हैसियतमा छैन ।

तर, बाँकी राजनीतिक रुपबाट प्रारम्भिक प्रक्रिया प्रारम्भ भइसकेको छ । अब यसमा अल्झेर थप वर्वादीको जोखिम मोल्न माधव समूहका लागि प्रत्युपादक हुनजान्छ । सके पार्टी फुटाउने, नसके बाहिरिनेबाहेक माधव समूहसँग विकल्प छैन । अब दुवै विकल्पका लागि तयार हुनु आवश्यक छ ।

केपी शर्मा ओलीको गतिविधिले सिंगो एमाले सम्भव छैन । माधव–झलनाथ ओलीसँगै रहने अवस्था पनि छैन । त्यसैले माधवहरु विद्रोहका लागि तयार हुनुपर्छ । माओेवादीसँग मिलेर अर्को राजनीतिक शक्ति निर्माण नै अहिले राम्रो विकल्प हो । अब ढिलो गर्नु हुँदैन ।

सर्वोच्चले नेकपा खारेज गरेसँगै ब्युँतिएको नेकपा माओवादी केन्द्र माधव समूहको प्रतिक्षामा छ । माधव समूहसँग नयाँ पार्टी बनाउने योजनासहित माओवादी बैठकमा नाम परिवर्तन एजेण्डा बनेको हो ।

माधव समूह माओवादीमै आउन असहज हुने भएकाले माओवादी नाम परिर्वतनको निर्णयमा पुगेको हो । तर, माओवादीले माधव समूहको निर्णयपछि मात्र नाम परिवर्तन गर्ने भन्दै थाती राखेको छ । यसको अर्थ माधव समूहसँग मिलेर नयाँ शक्ति बनाउने हो । यो गलत छैन । राजनीतिक रुपमा माओवादी तयार देखिन्छ ।

कस्तो पार्टी बन्नुपर्छ ?
संसारमै अहिले शास्त्रीय कम्युनिष्ट छैन । नेपालमा त झन् त्यो सम्भावना पनि रहँदैन । नेपाली समाज खुला समाज र बहुदलीय प्रतिस्पर्धाको राजनीतिमा अभ्यस्त भएकाले त्यसलाई सुहाँउदो किसिमको सैद्धान्तिक व्याख्या आवश्यक छ ।

आर्थिक र सामाजिक परिवर्तनका मुद्दा अगाडि बढाउन नेपालको संविधानले छेक्दैन, न त राजनीतिले नै छेक्छ । घोषणापत्र नै पल्टाएर हेर्ने हो भने कांग्रेस र कम्युनिष्टको त्यत्रो ठूलो सैद्धान्तिक भिन्नता छैन ।

नेपालका कम्युनिष्टहरुले समाजवादी अभ्यास गरिसकेका छन् । त्यसैले यहाँका कम्युनिष्टलाई समाजवादी प्रकृतिकै भन्दा उपयुक्त हुन्छ । २०४८ सालदेखि एमालेले सुरु गरेको बाटोमै माओवादी पनि आयो । उनीहरु बहुदलीय प्रतिस्पर्धा, बहुदलीय लोकतन्त्रको अभ्यासमा समाहित भएका छन् । जबज ठूलो कि २१औँ शताब्दीको जनताको जनवाद ठूलो भन्ने प्रतिष्ठाका विषय मात्र हुन् । सिद्धान्ततः दुवै एउटै हुन् । अग्रगामी सामाजिक आर्थिक न्यायपूर्ण नीति निर्माणमा केहीले पनि रोक्दैन ।

नयाँ पार्टी बन्दा ‘क्लासिक’ कम्युनिष्ट ब्याख्या गर्दा परिवेश साँघुरो बन्छ । जनसमर्थनको दायरालाई हेर्दा कांग्रेसलाई वा कम्युनिष्टलाई मत हालेपनि नेतृत्व र तत्कालको निर्णय क्षमतालाई कार्यान्वयन गर्ने वातावरण बन्यो भने जसलाई पनि भोट हाल्ने सामाजिक परिवेश बनेको छ ।

कम्युनिष्टलाई मात्र भोट हाल्ने कम्युनिष्ट मतदाताको एउटा जमात छँदैछ । कांग्रेस मतदाताको एउटा जमात छ । तर, यि दुवै जमात आ–आफ्नो किसिमबाट बहुमतमा पुग्न पर्याप्त छैन । बहुमतमा पुग्नका लागि मुस्किलले अर्काे ५–१० प्रतिशत मतदाताले मतदान परिवर्तन गर्याे भनेदेखि कांग्रेस पनि बहुमतमा पुग्छ, कम्युनिष्ट पार्टी पनि बहुमतमा पुग्छ ।

त्यसैले गैरकम्युनिष्ट मतदातालाई पनि आफ्नो पक्षमा ल्याउने किसिमको स्प्रिटमा अघि बढ्नुपर्छ । कम्युनिष्ट शास्त्रीय कुराका लागि विप्लव, मोहन वैद्यहरु छन् । माधव नेपालहरु यो माध्यमबाट प्रतिस्पर्धा गर्न सक्दैन भन्ने कुरा त हिजो नै प्रमाणित भइसकेको छ ।

(राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालसँग गरिएको कुराकानीमा आधारित ।)

प्रतिक्रिया दिनुहोस्