Logo
Logo

गुगल म्यापमा नेपालको पूर्ण नक्सा समावेश


दृष्टि संवाददाता


काठमाडौं । गुगल म्यापमा नेपालको चुच्चे नक्सा समावेश भएको छ । जेठमा सरकारले जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाउँदै समावेश गरेको हो ।

सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो। उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित भएको थियो ।

यसअघि उक्त क्षेत्र भारतले अतिक्रमण गरेको थियो। नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ । भारतले २०७६ कार्तिक १६ गते जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी–लिपुलेक पश्चिमका नेपाली भू–भाग समेत समेटेको थियो ।

नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण हुनु पर्नेमा अहिलेसम्म हुन सकेको छैन । नेपालले पनि भारचसँगको सीमाविवादलाई आपसी संवाद र सहमतिबाटै हल गर्ने भनेर अहिलेसम्म अन्तर्राष्ट्रियकरण गरेको छैन ।

गुगलले नेपालको नयाँ नक्सालाई समावेश गरेपछि अब यसलाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्