Logo
Logo

काठमाडौंसहित विभिन्न जिल्लामा दुर्घटना, १० जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं, १५ चैत ।
काठमाडौं, चितवन, गोरखा, नवलपरासी (पश्चिम), उदयपुर, नवलपरासी (पूर्व), बर्दिया र महोत्तरीका छुटाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।


काठमाडौं महानगरपालिका–१४ कलंकी चोकमा बा.२ क ५८९३ नम्बरको टिपरको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका–२२ पकौडीमा ना.५ ख २१५० नम्बरको बस र ना.४० प ७०८२ नम्बरको स्कुटर शनिबार साँझ एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटरमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटर चालक सोही महानगरपालिका–६ गितानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी, उनकै छोरी १७ वर्षीया बिनिसा अधिकारी र उनकै दाइकी छोरी १७ वर्षीया दिबिसा अधिकारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखा, गोरखा नगरपालिका–१० शिर्दीमा ग.१ त ४३७१ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले किच्दा ट्याक्टरमा सवार सोही नगरपालिका अमलापानी बस्ने ३२ बर्षीय दिल बहादुर नेपालीको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पश्चिम), सरावल गाउँपालिका–१ भगडा चोक नजिकै सडकमा ग.१५ प ३४९८ नम्बरको मोटरसाइकलले २ वटा साईकललाई शनिबार साँझ ठक्कर दिँदा साईकलयात्री बर्दघाट नगरपालिका–८ कुमाल टोल बस्ने ५० बर्षीय हिरालाल कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जना साइकलयात्री र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर, चौदण्डीगढी नगरपालिका–४ बर्खेडाँडामा स.१ त ७६२० नम्बरको ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरले किच्दा सोही गाउँपालिका–२ गगटे बस्ने २८ बर्षीय रुपेश लामगादेको शनिबार राति मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारको लागि बेल्टार अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी (पूर्व), कावासोती नगरपालिका–१७ गोछाडामा ना.५ ख ५८५२ नम्बरको बसमा लु.३८ प ६७९८ नम्बरको मोटरसाइकल शनिबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ बर्षीय देबेन्द्र महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि सेन्ट्रल अस्पताल भरतपुरतर्फ लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वर्दिया, बाँसगढी नगरपालिका–३ उत्तरभकारी चोक नजिक सडकमा ना.१ ज ५०७२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री बाँके कोहलपुर नगरपालिका–११ घर भएका सिता लम्सालको छोरा ८ वर्षीय सागर लम्सालको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरी, बर्दिवास नगरपालिका–३ कालापानीमा बा.७ च ४९४३ नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–३ कालापानी बस्ने बेल बहादुर परियारको छोरा १२ वर्षीय पुष्कर परियारको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घानामा घाइते भएका कार चालक सिरहा मिर्चैया नगरपालिका–९ बस्ने २३ वर्षीय बिपिन महरालाई सोही अस्पताल हुँदै थप उपचारको लागि बिराटनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्