Logo
Logo

उपत्यकामा मेलम्चीको पानी: कहाँ कुन समयमा आउँछ ? (सुचीसहित)


दृष्टि संवाददाता


काठमाडौं । काठमाडौं उपत्यकामा हिजो (आईतबार) बाट मेलम्चीको पानी घरघरमा वितरण भएको भएको छ । सुन्दरीजलबाट आएको प्रशोधित पानीलाई पिउन योग्य बनाएर महाकाँलचौरस्थित पानी पोखरीबाट वितरण गरिएको हो । लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौँ उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको छ ।

आइतबार दिउँसो महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइएको छ । अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरिएको हो ।

हाल पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरी पुरानै पाइपलाइन र धारामा दिइने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छाइएको नयाँ पाइपलाइनमा परीक्षण गर्दै लैजाने लिमिटेडको योजना छ ।

अहिले दैनिक चार करोड लिटर पानी आउन थालेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । मेलम्चीको पानी चार चरणमा विभाजन गरी वितरण गर्ने भएको उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जानकारी दिएको छ । पहिलो चरणका आइतबार चार करोड लिटर पानी वितरण गरेको छ । दोस्रो चरणमा महाँकाल र बालाजुको पानी पोखरीबाट ६.५ करोड लिटर दैनिक वितरण गर्ने बताइएको छ ।

तेस्रो चरणमा बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी ८.५ करोड लिटर वितरण हुनेछ । त्यस्तै, चौथो चरणमा कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरुमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मीलन शाक्यले बताए ।

एयुुकेएलले प्राप्त हुने पानीलाई वितरण तालिका तयारी गरी दैनिक वा दिन बिराएर धाराहरुमा वितरण गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत शाक्यले भन्नुुभयो “वितरणको तालिका सम्बन्धित शाखा कार्यालयहरुको फेसबुुक, सूचना, जनसम्पर्क ईकाईमार्फत् उपलब्ध गराइएको छ, कतै पानी चुहावट भएमा, पानी नआएमा वा अन्य कुनैपनि समस्या भएमा केयुकेएल एप्स, इमेल र एसएमएसमार्फत् जानकारी दिएमा हामी तुुरुन्त प्राविधिक टोली पठाई हाल्छौं ।” छिटो सेवा र अनुुगमनको लागि सबै शाखा कार्यालयहरुबाट (यापिड रेस्पोन्स टिम स्थलगत रुपमा परिचालित रहेको शाक्यले जानकारी दिए ।

केयुुकेएलले आइतबार महाँकाल चौरमा पत्रकार सम्मेलन गरी मेलम्ची आयोजना सम्पन्न गर्नका लागि योगदान गर्नुहुने, पूूर्वप्रधानमन्त्रीहरु, विभागिय मन्त्रीहरु, पूर्वप्रशासकहरु लगायत सम्पूूणलाई धन्यवाद प्रदान गरेको छ ।
हाल पुुरानै वितरण पाइपलाईनबाट वितरण गरिएको छ ।

सँगसँगै नयाँ पाइपलाईनको परीक्षण गरी वितरण गरिने भएको छ । मेलम्चीबाट प्राप्त १७ करोड लिटर र काठमाडौँ उपत्यकाको भूमिगत पानी ८ करोड लिटर गरी जम्मा २५ करोड लिटर पानी केयुुकेएलले वितरण गर्ने छ । काठमाडौँ उपत्यकामा हाल दैनिक ३४ करोड लिटर पानीको माग छ ।

दोस्रो परियोजना अन्तर्गत याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५१ करोड लिटर पानी उपत्यकामा आउने छ । दोस्रो परियोजना सम्पनन भएपछि काठमडौँ उपत्यकाका घरमा दैनिक ६ घण्टा पानी आउने छ । मेलम्चीको पानी वितरण सुरु भएपछि भूमीगत पानीको प्रयोग नगरिने केयुकेएलले जनाएको छ ।

शुल्क कति लाग्छ ?
अहिले खानेपानीको शुल्क यथावत नै राख्ने लिमिटेडको योजना छ । पहिले पानी दिने लक्ष्य भएको र ग्राहक खुशी बनाएर मात्रै महसुल बढाउन सोच्ने उनले बताए । तोकिएका स्थानमा कुनै घरमा पानी नपुगेमा तत्काल समस्या पत्ता लगाएर समाधानका लागि टोली बनाइएको छ । उनले भने– ‘सम्बन्धित शाखामा सम्पर्क गरेपछि समाधान हुनेछ ।’

निर्माण शुरु भएको लामो समयसम्म पनि सम्पन्न हुन नसकेको आयोजनाको निर्माण सकिएसँगै परीक्षण गरिएको हो । यस अघि मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माण भएका सुरुङ र पानी प्रशोधन केन्द्रको परीक्षण गरिएको थियो । राष्ट्रिय गौरवको सो आयोजनाले काठमाडौँ उपत्यकामा लामो समयदेखि रहेको खानेपानीको अभाव हट्ने अपेक्षा गरिएको छ ।

आयोजनामा यसअघि विभिन्न कम्पनीले काम गरेका थिए । पछिल्लो पटक चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको बाँकी काम सम्पन्न गरेको हो । सोही कम्पनीले ‘हेडवर्क’ निर्माण गरिरहेको छ ।

मेलम्चीको सुरुवात
विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो ।

पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।

सुचीमा हेर्नुस्

प्रतिक्रिया दिनुहोस्