Logo
Logo

सेनाको हतियार कसरी पुग्यो विप्लवको हातमा ?


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १६ फागुन ।
सुनसरीको धरानमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एकजना नेता नेपाली सेनाले प्रयोग गर्दै आएको अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । विप्लव माओवादीसँग सो हतियार कसरी पुग्यो भन्नेमा अहिले धेरै आश्चर्य व्यक्त गरिरहेका छन् ।


मोरङ केराबारी गाउँपालिका–१० बाहुनीका ४२ वर्षीय संगीत भनिने देवकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको शहो । धरान उपमहानगरपालिका–६ पानबारी सुनसरी प्रहरीको टोलीले लिम्बूको साथबाट एलएमजी र एम–१६ हतियार बरामद गरेको हो ।
नेपालमा एम–१६ नेपाली सेनाले मात्रै प्रयोग गर्ने गरेको छ । प्रदेश नम्बर एकका प्रहरी प्रमुख केदार रिजालले बरामद भएका दुवै हतियार ‘अटोमेटिक’ मेसिन गन भएको बताए । धरानबाट मोरङको केराबारीतर्फ जाँदै गर्दा मे ५ प ७५ नम्बरको मोटरसाइकल चेकजाँच गर्न खोज्दा लिम्बूले नरोकेर भागेपछि प्रहरी टोलीले पिछा गरेको थियो । नक्खुस्थित एनसेल कार्यालयमा विप्लवको नेकपाले बम विष्फोट गराएपछि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
डीआईजी रिजालले प्रदेश नम्बर १ को सुरक्षा व्यवस्था कडा पारिएको र हरेक प्रकारका गतिविधिमा निगरानी बढाइएको बताए । ‘‘लिम्बूमाथि अनुसन्धान गरिरहेका छौं । हतियार कहाँबाट आयो, कता लैजान खोजिएको थियो, यो सबै कुरा अनुसन्धानपछि खुल्ला,’’ डीआईजी रिजालले भने । पछिल्लो समय सुरक्षा निकायलाई विप्लव समूहले तत्कालीन युद्धमा प्रयोग भएका तर लुकाइएका हतियार बाहिर निकाल्न खोजेको सूचना पुगेको बताइएको छ ।

लिम्बू विप्लवकै पार्टी नेकपाको पूर्वी ब्युरो सदस्य हुन् । उनी मोटरसाइकलमा चामलको बोरामा राखेर हतियार अन्यन्त्र लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘‘यो तत्कालीन माओवादी युद्धकै समयमा लुकाइएको हतियारजस्तो देखिन्छ । यस्ता अत्याधुनिक हतियार भारतबाट ल्याउन सम्भव देखिँदैन ।’’
सेनाले समेत सो हतियारको बारेमा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्