Logo
Logo

त्यो त ‘नेचुरल’ कुरा हो-वसन्ता प्रकृति, गायिका


दृष्टि संवाददाता


लाग्छ, वसन्ता प्रकृति एक गायिकामात्र हुन् । चिन्नेहरुले पनि बसन्तालाई गायिककै रुपमा मात्र चिन्छन् । तर, उनको अर्को पनि परिचय छ, त्यो हो फेसन डिजाइनर । तर, हालसम्म आफूलाई कतै फेसन डिजाइनरका रुपमा उनीले आफूलाई चिनाएकी छैनन् । बागबजारस्थित पद्मकन्या क्याम्पसबाट संगीत र सोशल वर्कमा स्नातक गरेकी दाङकी बसन्ता भन्छिन्, ‘गायन मेरो सानैदेखिको रुचि हो । आफूलाई चिनाउँदा पनि गायिका नै भन्छु ।’ २०७२ सालमा ‘मनमा’ नामक गीति एल्बम निकालेर औपचारिक गायनयात्रा तय गरेकी बसन्ता फेसन व्यवसायी पनि हुन् । उनले हालैमात्र मैतीदेवीमा ‘प्रकृति सारी एण्ड कुर्था कलेक्शन’ बुटिक सञ्चालनमा ल्याएकी छन् । बसन्ता बुटिक व्यवसायीलाई ‘साइट जब’का रुपमा लिन्छिन् । ‘गायनमा मात्र टिक्न गाह्रो छ’ उनी भन्छिन्, ‘बुटिक व्यवसायीबाट आम्दानी भयो भने एल्बम गर्नु सजिलो हुन्छ ।’ यिनै गायिका तथा फेसन डिजाइनर बसन्ता प्रकृतिसँग दृष्टिको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?

अहिले गीतसंगीतको काम पनि भइरहेको छ । तर, धेरैजसो चाहिँ पसलमै व्यस्त छु ।

तपाइँले यसअघि पनि बुटिक व्यवसायी गर्नुभएको थियो कि यो नै पहिलो हो ?

मैले पहिले पनि गरेकी हुँ । यसअघि बागबजारमा मेरो बुटिक थियो । त्यहाँ बेचेर यहाँ खोलेकी हुँ ।

फेसन व्यवसायमै व्यस्त भएपछि गायनलाई समय दिन सकिन्छ ?

सकिन्छ । हिजोआज पहिलेजस्तो संगीतमा व्यस्त छैन । कोरोना भाइरसका कारण संगीत डामाडोल भएको छ । आफू बाँच्नका लागि सजिलो होस् भनेर पनि बुटिक खोलेकी हुँ ।

तपाइँ फेसन डिजाइनर पनि हो ?

हो, आठ वर्ष अगाडि नै फेसन डिजाइनिङ कोर्ष गरेकी हुँ । म तर, मेरो रुचिचाहिँ गीतसंगीत नै हो । गीतसंगीत क्षेत्रमा टिक्नका लागि साइट जब चाहिन्छ । त्यसैले डिजाइनिङ सिकेकी हुँ । तर, म फेसन डिजाइनर भनेर प्रायलाई थाहा छैन ।

बुटिकमा कति लगानी गर्नुभयो ?

लगानी त राम्रै परेको छ । सुरुमै २०/२५ लाख लगानी भएको छ । लगानीअनुसार व्यापार पनि ठीकै छ ।

आफूलाई डिजाइनरका रुपमा किन चिनाउनुहुन्न ?

मेरो प्रोफेशनल भनेको गायन हो । त्यसैले कतै चिनाएकी छैन । मेरो गायन यात्रालाई प्लसप्वाइन्ट होस् भनेर डिजाइनिङ कोर्ष गरेकी हुँ । अहिले काम लागेको छ ।

गीतसंगीत क्षेत्रमा कहिलेबाट हुनुहुन्छ ?

२०६८ सालदेखि गायन अँगालेकी हुँ । तर, एल्बमचाहिँ २०७२ सालमा मात्र ल्याएँ ।

अहिलेसम्म कतिको एल्बम ल्याउनुभयो ?

एल्बम त एउटामात्रै हो । २०७२ सालमा ‘मनमा’ एल्बम ल्याएकी थिएँ । त्यसपछि दोस्रो एल्बमको तयारी गर्दैैगर्दा कोरोना महामारी आयो । त्यसपछि सबै काम रोकियो । एल्ममको एउटा गीतचाहिँ बाहिर आएको छ ।

गीतको बोल के छ ?

‘यस्तै हुँदोरहेछ’ । उक्त गीतमा राजनराज सिवाकोटीको कम्पोज रहेको छ । स्वर पनि उहाँ र मैले नै दिएका छौँ । उक्त गीत यु–ट्युबमा हेर्न सकिन्छ ।

तपाइँका चलेका गीतहरु कुन कुन छन् ?

त्यति धेरै चलेको गीत त छैन । ‘कति बस्छौँ टाढा भई’, ‘हेरि सिधैँ नजरमा’ जस्ता गीत दर्शक तथा श्रोताले रुचाएका छन् । तर, भनेजस्तो प्रमोशन गर्न सकिनँ । प्रमोशनका लागि फाइनासियल पनि चाहिन्छ ।

तपाइँ बढी कस्तो गीत गाउनुहुन्छ ?

म सुगम संगीतबाट आएकी हुँ । त्यसैले आधुनिक र क्लासिक गीतहरु बढी गाएकी छु । अहिलेसम्म लोकगीत चाहिँ गाएकी छैन । तर, यस्तै गीत गाउँछु भन्नेचाहिँ छैन ।

काठमाडौं पहिलोपटक केका लागि आउनुभएको थियो ?

म अध्ययनका लागि नै आएकी हुँ । २०६७ सालतिर काटमाडौं आएपछि पद्मकन्यामा म्युजिक र शोसल वर्क विषय लिएर पढेकी हुँ । गायनमा मेरो सानैदेखि रुचि थियो ।

संगीतमा लागेर खुसी हुनुहुन्छ ?

खुसी नै छु । अझै धेरै गर्नुछ । मिहिनेत गरिरहेकी छु । मिहिनेतअनुसार फल पाइरहेकी छु । त्यसैले खुसी नै छु ।

सिंगल हुनुहुन्छ । प्रेम प्रस्ताव कतिको आउँछ ?

यो त नेचुअर कुरा हो । आउँछ । तर, अहिले मेरो प्रस्ताव स्विकार्ने समय छैन । म करिअर बनाउनमै व्यस्त छु ।

 

 

 

प्रतिक्रिया दिनुहोस्