Logo
Logo

दुर्गाप्रसाद र ओलीबीच साँठगाँठ, ‘चोरबाटोबाट’ सम्बन्धन दिने तयारी


दृष्टि संवाददाता


धरान । झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन विधानविपरीत काठमाडौँै विश्वविद्यालय (केयु)सँग विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले गोप्य सम्झौता गर्न लागेको विषयलाई लिएर प्रतिष्ठानका चिकित्सक विद्यार्थीहरुले विरोध गर्दै आएका छन् ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको विशेष पहलमा शिक्षा मन्त्रालयले आफ्नो क्षेत्राधिकार बाहिर गएर बिएण्डसी मेडिकल कलेजलाई सम्बधन दिलाउन प्रतिष्ठान र केयुबीच गोप्य सहमति गराएको थियो । सो सहमति कानूनविपरीत भएको भन्दै गत हप्ता प्रतिष्ठानका चिकित्सक, विद्यार्थीहरुले विपी प्रतिष्ठानका उपकुलपतिको कार्यालयमा गएर विरोध जनाएका थिए ।

प्रतिष्ठानभित्र भएका अनियमितता हटाउने दिशातर्फ लाग्न छाडेर प्रतिष्ठानका उपकुलपति स्वयं अवैध बाटोबाट मेडिकल कलेजहरुलाई सम्बन्धन दिन लागिपरेकाले आफूहरु विरोधमा उत्रनुपरेको कुरा शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलले दृष्टिलाई बताए । समाजले केयुसँग भएको सम्झौता कार्यसमितिमा नलैजान पनि दबाब दिएका थिए । सोहीअनुरुप सो एजेण्डालाई कार्यसमितिमा प्रवेश नपाएको कुरा एक कार्यसमिति सदस्यले दृष्टिलाई बताए । आइतबार कार्यसमितिको बैठक राख्ने र सोही बैठकवाट अनुमोदन गराउने सुइँको पाएपछि आफूहरुले सोही दिन भिसीको कार्यालयमा पुगेर विरोध जनाएको डा. पोखरेलले बताए । यसबारेमा रजिष्ट्रार प्राडा मोहन रेग्मीसँग जानकारी माग्दा उनले कुनै प्रतिक्रिया दिन चाहेनन् ।

झापाको बिएण्डसी मेडिकल कलेज विवादित व्यक्ति दुर्गा प्रसाईँको हो । प्रसाईँ पहिला प्रचण्ड नजिक भए पनि अहिले प्रम ओलीको विश्वासपात्र बनेको बताइन्छ । उनी विपी प्रतिष्ठानका भिसी ज्ञानेन्द्र गिरीका भतिज हुन् । आफ्नो कलेजलाई सम्बन्धन दिलाउन धेरै अघिदेखि प्रयासरत भए पनि सफल भएको थिएन । तर, यसपटक भने प्रम ओलीको ठाडो निर्देशनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बन्धन दिलाउन चोर बाटो अपनाउन लागेको बताइन्छ ।

प्रतिष्ठान र केयुबीच सम्बन्धनबारे सम्झौता भए पनि कार्यसमितिमा यसको एजेण्डा नै नआएको एक कार्यसमिति सदस्यले बताए । चिकित्सा शिक्षा आयोग र स्वास्थ्य मन्त्रालयको संलग्नताबिना नै सम्झौता भएकोले यसले मान्यता पाउने कुरामा सहज नभएको उनले बताए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ अन्तर्गत बनेको राष्ट्रिय चिकित्सा शिक्षा आयोगको अध्यक्षमा स्वयं प्रधानमन्त्री रहेका छन् । झापाको बिएण्डसी मेडिकल कलेज विवादित व्यक्ति दुर्गा प्रसाईँको हो । प्रसाईँ पहिला प्रचण्ड नजिक भए पनि अहिले प्रम ओलीको विश्वासपात्र बनेको बताइन्छ । उनी विपी प्रतिष्ठानका भिसी ज्ञानेन्द्र गिरीका भतिज हुन् । आफ्नो कलेजलाई सम्बन्धन दिलाउन धेरै अघिदेखि प्रयासरत भए पनि सफल भएको थिएन । तर, यसपटक भने प्रम ओलीको ठाडो निर्देशनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बन्धन दिलाउन चोर बाटो अपनाउन लागेको बताइन्छ ।

 

भिसीको क्वार्टरमा अख्तियारको छापा

प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीको प्रतिष्ठान परिसरमा रहेको आवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी एकाइले छापा मारेर केही कागजातहरु कब्जामा लिएको छ । गत बिहीबार दिउँसो ११ बजे अख्तियार इटहरीका स्वास्थ्य क्षेत्र हेर्ने अनुसन्धान अधिकृत दिवस अधिकारीको नेतृृत्वमा पुगेको तीन सदस्यीय टोलीले भिसीको क्वार्टरभित्र महंगा–महंगा बिलासीका सामानहरु खरिद गरिएको उजुरी परेपछि अनुसन्धानका लागि आएको प्रतिष्ठानका कर्मचारीहरुले बताए ।

भिसी गिरीले आफू बस्ने आवासमा पचासौँ लाख खर्च गरेर महंगा फर्निचरहरु, सजावटका सामान र रक्सी खाने शिशमहलसमेत बनाउन लगाएका छन् । गिरी आउनुभन्दाअघि नै तत्कालीन उपकुलपति डा विपी दासले पचासौँ लाख खर्च गरेर भिभीआइपी भवनलाई श्रृगारेर गर्न लगाएका थिए । तर वर्तमान उपकुलपतिले त्यसलाई झनै ठूलो रकम खर्च गरी विलासिताको सामानहरु जोडेको भनी अख्तियारमा उजुरी परेको आधारमा हामीहरु अनुसन्धान गर्न आएको भनी अधिकृत अधिकारीले बताए । उनले प्रतिष्ठानको बारेमा सबैभन्दा बढी उजुरी आउने गरेको बताउँदै अब यहाँभित्रको अनुसन्धानलाई तीव्रता दिने पनि बताए ।

मदिराप्रेमी गिरीले मदिरापार्टी गर्नकै लागि १० लाख रुपैयाँ खर्च गरेर शिशमहल बनाउन लगाएका छन् । सोही महलमा बसेर हिजोआज हरेक साँझ रंगिन साँझ मनाउने गरेको कर्मचारीहरु बताउँछन् । चिकित्सक कर्मचारीलाई समयमा तलव दिन नसकेपछि महिनैपिच्छे हडताल, तालाबन्दी गर्न बाध्य छन् भने उपकुलपतिको फजुल खर्च गर्ने बानीले उनी प्रतिष्ठानप्रति जिम्मेवार छैनन् भन्ने देखाउँछ ।

प्रतिष्ठानभित्र उपकुलपतिको छुट्टै आवास भवन हुँदाहँुदै विगतका उपकुलपति डा विपी दासले भिभीआइपीहरु आउँदा बस्ने आवासलाई थप खर्च गर्न लगाई कब्जा गरेर बसेका थिए । उनले पनि लाखौँ रुपैयाँको फर्निचर, सजावटका सामानहरु कार्पेट खरिद गरेका थिए । पछि उनलाई भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले निलम्वन गरी कारवाही अगाडि बढाएपछि उनको ठाउँमा वर्तमान भिसी बसेका थिए । दासले सो आवास छाड्दा त्यहाँ भएका सबै सरकारी सामानहरु आफ्नो घर लगेका थिए ।

जुन जोगी आए पनि कानै चिरिएको भनेझैँ विपी प्रतिष्ठानमा न जो भिसी आए पनि प्रतिष्ठानको उन्नती, विकासमा भन्दा भ्रष्टाचार र कमिशनको खेलमा फस्ने भएकोले प्रतिष्ठानको व्यवस्थापन लथालिंग अवस्थामा पुग्न थालेको छ । एमर्जेन्सीमा बिरामी राख्ने ठाउँ नभएर बिरामी भुइँभरि लडिरहेका हुन्छन् । डाक्टरले लेख्ने ठाउँ नपाएर भुइँमै टुक्रुक्क बसेर फिलामा कागज राखेर लेखिरहेको दृश्य प्रतिष्ठानमा साधारण कुरा बन्न थालेको छ । तर हालका भिसी, अस्पताल प्रमुख स्वयं हरेक कुरामा कमिशनको माग राख्ने गरेकोले प्रतिष्ठान भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।

प्रतिक्रिया दिनुहोस्