Logo
Logo

यसकारण मनाउँन थालियो मुर्ख बनाउँने अप्रिल फुल


दृष्टि संवाददाता


काठमाडौं । अंग्रेजी पात्रो अनुसार आज एप्रिल १ तारिख । यो दिन संसारभर एक अर्कालाई मूर्ख बनाउँने र झुट बोल्ने चलन चल्दै आएको छ । यो दिन झुक्याउँदा वा जिस्क्याउँदा कोही कसैसँग रिसाउँदैनन् ।

अप्रिल फुल किन र कसरी, कहिलेदेखि मनाउँन थालियो त्यस्तो कुनै रेकर्ड छैन । तर, नयाँ वर्ष परिवर्तन भएकै कारण त्यसैमा आधारित रहेर मनाउँने गरिएका केही भनाइहरु प्रचलनमा छन् ।

प्राचिन यूरोपमा अप्रिल १ लाई नयाँ वर्षको रुपमा मनाईंदै आइएको थियो । सन् १५८२ मा पोप ग्रेगोरी १३औंले १ जनवरीलाई नयाँ वर्षका रुपमा सारे । रोम राज्यमा यही नयाँ वर्ष कायम भयो ।

तर कतिपयले जानकारी नै नपाएर पुरानै अर्थात अप्रिल १ लाई नै नयाँ वर्ष मानेर मनाउँन थाले । उनीहरु मुर्ख भएको भन्दै मजाकमा उडाउन थालेदेखि यो दिनलाई मजाकका रुपमा लिने गरिन्छ । त्यस्तै अर्को भनाइ पनि प्रचलनमा रहेको छ ।

सन् १५६४ मा फ्रान्सका राजा चाल्र्स नवौंले नयाँ वर्ष जनवरी १ मा मनाउँन आदेश दिए । राजाको त्यो आदेश धेरैले माने तर कतिपयले यो परिवर्तनलाई सहज रुपमा स्वीकार्न सकेनन् । उनीहरुले पहिलो अप्रिललाई नै वर्षको शुरुवात मानिरहे ।

यिनैलाई अन्य जनताले हाँसो गरी मूर्ख भनी गिज्याउन थाले र अप्रिल १ मा नयाँ वर्ष मनाउँनेहरुलाई मुर्ख भनेर उडाउन थाले । अप्रिल फुलको धेरैवटा किंवदन्ती रहेका छन् । सन् १५०८ मै एक फ्रान्सेली कविले आफ्नो रचनामा अप्रिल फूलको सन्दर्भ उल्लेख गरेका थिए ।

अर्को एक दाबीअनुसार १५३९ कवि ‘डे डेने’ ले आफ्नो रचनामा १ अप्रिलमा धनाढ्य मालिकले आफ्ना नोकरलाई मूर्खतापूर्ण कामका लागि पठाएको विषय उल्लेख गरेका छन् । अप्रिल फुल युरोप, अमेरिकासहित विश्वका धेरै देशमा मनाइन्छ र यस्ता धेरै किंवदन्ती प्रचलनमा छन् । नेपालमा पनि अचेल अप्रिल फुल मनाउँन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्