Logo
Logo

अनधिकृत रुपमा लोगो र झण्डा प्रयोग गरिएको भन्दै युवा संघको आपत्ति


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै पार्टीका नेताहरुलाई कारवाही गरिरहेको बेला ‘युवा संघ नेपल’मा विवाद बढेको छ ।

एमालेको युवा संगठन ‘युवा संघ नेपाल’को समानान्तर कमिटी गठन गरेको माधव–झलनाथ समूहको युवा संघले संघको लोगो, झण्डा र छाप अनधिकृत रुपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ ।

नरेश शाहीको नेतृत्वमा समानान्तर कमिटी गठन गरेर बुधबार छुट्टै कार्यालय उद्दघाटन गरेको युवा संघले बिहीबार विज्ञप्ति जारी गर्दै लोगो, झण्डा र छाप अनधिकृत रुपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएको हो ।

महासचिव दीपक जीएमद्धारा जारी विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो संगठनको लोगो, झण्डा र छापा अनधिकृत रुपमा प्रयोग गरिएको पाएका छौं । यसरी कुनै पनि व्यक्ति, समूह वा झुण्डले हाम्रो झण्डा र लोगो प्रयोग गर्नु अवैधानिक र गैरराजनीतिक हुने हाम्रो ठहर छ । पूर्व युवा संघ नेपाल र पूर्व वाइसीएलका केही व्यक्तिले संगठनको झण्डा र लोगो मिल्दो राखी गतिविधि गरिरहेको जानकारी पाएका छौं, महासचिव जीएमले भने । हामी त्यसो नगर्न आग्रह गर्दछौं ।’ यदि, यो कार्य नरोकिए असहज परिस्थिति बन्न सक्ने महासचिव जीएमले चेतावनी दिएका छन् ।

गत चैत ७ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर समानान्तर कमिटी गठन गरेको युवा संघ माधव–झलनाथ समूह देशव्यापी संगठन विस्तारमा लागेको छ । चैतभित्र सबै प्रदेश र जिल्लाहरुमा कमिटी घोषणा गर्ने तयारी गरिएको उपमहासचिव सञ्जिप राईले जारीका दिए ।

प्रतिक्रिया दिनुहोस्