Logo
Logo

दार्चुलामा भारतीय ज्यादति कहिलेसम्म ?


दृष्टि संवाददाता


काठमाडौं । दार्चुलाको सदरमुकाम पारिपट्टी एकतर्फी रूपमा भारतले तटबन्ध निर्माण गरेको भन्दै सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सांसदहरूले दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण जारी राखेको बिषयमा आपत्ति जनाएका हुन् ।

बैठकमा सांसद भीम रावलले नेपालको भौगोखिक अखण्डताको रक्षाका लागि सरकारले तत्काल वार्ता गर्नुपर्ने बताउनुभयो । उहाले एकतर्फी रूपमा तटबन्ध निर्माणमा सरकारले कुनै चासो नलिनु सरकारको लापरवाही भएको तर्क गरे । त्यस्तै सांसद लक्ष्मी परियारले दार्चुला सदरमुकाम पारिपट्टि भारतले एकतर्फी रूपमा तटबन्ध बनाइरहदा त्यहाको जनताको सुरक्षाको बिषय प्रमुख भएको धारणा राखे ।

त्यस्तै अन्य सांसदहरुले महाकालीको बहाव परिवर्तन गरेर तटबन्ध निर्माण हुदा पनि सरकारको आखा नपुग्नु निकै दुखद अवस्था भएको बताएका थिए । भारतले अहिलेसम्म तटबन्धको फाउन्डेसनका लागि करिब ८० मिटर खनिसकेको र २० मिटरमा फाउन्डेसन राखेको सांसदहरुको जनाएका छन् । तटबन्धसँगै बनाइने स्परले नदीको बहाव धकेल्ने र नेपालतर्फ जोखिम बढ्ने खतरा रहेको उनीहरुको भनाइ छ ।

समितिले भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माणको बिषयमा अबिलम्व भारतसंग वार्ता गर्न सरकारलाई निर्देशन समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्