एकै महिनामा १४ हजार बढी विदेशी पर्यटक भित्रिए « Drishti News – Nepalese News Portal
Logo

एकै महिनामा १४ हजार बढी विदेशी पर्यटक भित्रिए


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरसको जोखिम कायमै रहेकाबेला एक महिनामा १४ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । मार्च महिनामा मात्र १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आए । यो सङ्ख्या सन् २०२१ को ३ महिनाको अवधिमा सबैभन्दा धेरै हो ।

वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन् । जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा ११ हजार २०० पुरुष, ३ हजार ३६३ महिला र १२ अन्य लिङ्गी पर्यटक नेपाल आएका छन् ।

तुलनात्मक रुपमा यो सङ्ख्या सन् २०२० को तुलनामा ५५ दशमलव ५८ प्रतिशत काम हो । सो अवधिमा ३४ हजार २५ पर्यटक नेपाल आएका थिए । यस्तै सन् २०१९ को तुलनामा ८८ दशमलव २४ प्रतिशतले कमी हो । सन् २०१९मा एक लाख २७ हजार ३१५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

मार्चमा भारतबाट सबैभन्दा धेरै सात हजार ६५८ पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट एक हजार ७०३ पर्यटक आएका छन् । चीनबाट एक हजार २०७ पर्यटक आएका छन् । बेलायतबाट ६६५ र बङ्गलादेशबाट ५६८ पर्यटक नेपाल आएका छन् ।

वसन्तयामको आरोहण चलिरहेकाले अहिले अधिक सङ्ख्यामा विदेशी नेपाल आउनुले कोभिडपछिको पर्यटनलाई चलायमान बनाउन सकारात्मक प्रभाव पर्ने बोर्डको अनुमान छ । बोर्डका प्रवक्ता मणि लामिछानेले क्रमशः विदेशी पर्यटकको आगमन वृद्धिले पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको र यसले समग्र पर्यटन क्षेत्रलाई उत्साहित तुल्याएको बताए।

प्रतिक्रिया दिनुहोस्