Logo
Logo

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै, होला राजनीतिक गतिरोध अन्त्य ?


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न आज (शुक्रबार) केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा नयाँ सत्ता समीकरणका लागि भइरहेका प्रयासहरु र आगामी १४ औं महाधिवेशनको तयारीका बारेमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले दिंदै आएको समर्थन फिर्ता गर्नुपर्ने भनेको छ । कांग्रेसले अर्को दल जनता समाजवादी पार्टी (जसपा)सँग पनि स्पष्ट हुन खोजेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले भने, ‘आज बोलाइएको बैठकमा पछिल्लो राजनीतिक अवस्था र १४ औं महाधिवेशनका बारेमा छलफल हुन्छ । नयाँ सत्ता समीकरणका लागि कांग्रेस माओवादी केन्द्र र जसपासँग स्पष्टता चाहन्छ ।’

कांग्रेसको यही बैठकलाई माओवादी केन्द्र र जसपाले पनि पर्खेर बसेको बताएका छन् । ओली सरकार ढाल्न माओवादी केन्द्रले कांग्रेस र जसपासँगको छलफललाई जारी राखेको छ ।

केन्द्रले कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय कुरेपछि थप निर्णय गर्ने बताएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘कांग्रेसले कस्तो निर्णय गर्छ, त्यसका आधारमा माओवादी आफ्नो ढंगले अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्