Logo
Logo

कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा, आफ्नै नेतृत्वमा सरकार बनाउँने


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउँने पहल थाल्ने भएको छ । कांग्रेसको हिजो (शुक्रबार) साँझ ढिला गरी बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको तयारी थाल्ने निर्णय गरेको हो ।

तर, कांग्रेसले नयाँ सत्ता समीकरणको रणनीतिबारे बोलेको छैन । बैठकबारे प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने हाम्रो प्रष्ट धारणा छ । त्यसपछि कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको प्रक्रिया अघि बढाउँछ ।’

उनले अविश्वासको प्रस्तावबारे कुनै निर्णय नभएको पनि जानकारी दिए । प्रतिनिधिसभा पुनःस्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने ओलीको विस्थापनका लागि छिटो निर्णय लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक–पटक भेटेर आग्रह गर्दै आएका थिए ।

तर माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र जनता समाजवादी पार्टी गणितीय आधारमा एकढिक्का भएमा कांग्रेसले नेतृत्व लिने वा अरु दलको नेतृत्वमा नयाँ सरकार बनाउन साथ दिने बताउँदै आएको थियो ।

माओवादी केन्द्रले अहिलेसम्म सरकारबाट समर्थन फिर्ता लिएको छैन । तर समर्थन फिर्ता लिने बताउँदै आएको छ । पुस ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि साविकको नेकपा विभाजित भएको थियो ।

जसमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल समूह ओलीको कदमको विरोधमा र ओली आफूले चालेको कदम सही भन्दै आएका थिए । सर्वोच्चबाट २३ फागुनमा भएको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस्