Logo
Logo
सत्ता समीकरण

सत्ता समीकरणमा भारतको चलखेलबारे कांग्रेस बैठकमा छलफल

यसकारण भयो केन्द्रीय समिति बैठक बस्न ढिला


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउँने औपचारिक निर्णय गरेपनि कुन बाटोबाट जाने भन्नेमा प्रष्ट छैन । नयाँ सत्ता समीकरणमा जनता समाजवादी पार्टी (जसपा) निर्णायक बनेको अवस्थामा उसको निर्णयकै आधारमा कांग्रेसले योजना बनाउँने भित्रि तयारी गरेको छ ।

नेपालको तरल राजनीतिमा बाह्य चलखेल (भारत) रहेको भित्रि बुझाइ कांग्रेस नेताहरुको छ । त्यसैले पनि पार्टी सभापति शेरबहादुर देउवा नयाँ समीकरणभन्दा ‘अर्ली इलेक्सन’ अर्थात मध्यावधि निर्वाचनकै पक्षमा उभिएको उनी निकट एक नेताले जानकारी दिए । उनले भने, ‘कांग्रेसकै नेतृत्वमा सरकार बन्दा माओवादी केन्द्रको साथ रहेपनि जसपा एक ढिक्का भएर आइहाल्ने अवस्था देखिएको छैन । जसपामै दुई धार छ । त्यसो हुँदा बहुमत जुट्ने अवस्था भएन भने कसरी सरकार बनाउँने ? बरु निर्वाचन मै जाँदा फाइदा हुन्छ ।’

कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्दा पनि हालको अवस्थामा १ सय ४२ सिट हुन्छ । कांग्रेससँग निलम्बित बाहेक ६१, माओवादीसँग ४९ (४ जना एमालेमा प्रवेश) र जसपाका दुई निलम्बित बाहेक ३२ सिट रहेको छ । बहुमतका लागि १३८ मत पुर्याउँनुपर्ने अवस्थामा सरकार सञ्चालनमा कठिन हुने निष्कर्षमा कांग्रेस रहेको छ ।

शुक्रबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा र केन्द्रीय समिति बैठकमा यही विषय उठान भएको थियो । सभापति देउवा आफ्नै नेतृत्वमा सरकार बनाउँने निर्णय गर्न बाध्य बनेपनि उनको भित्रि चाहना निर्वाचन नै रहेको थियो । तर, प्रमुख प्रतिपक्षी दल भएका कारण राजनीतिक निर्णय गर्नै पर्ने बाध्यतामा रहेका उनले सरकार बनाउँन नेतृत्व गर्ने निर्णय गरे ।

केन्द्रीय समिति बैठक बस्नुअघि सभापति देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल र केही पदाधिकारीहरुको बैठक बसेको थियो । सो बैठकमा कांग्रेस सत्ता समीकरणको खेलमा लाग्ने कि नलाग्ने भन्ने बहस चर्को बन्यो । माओवादी केन्द्रसँग विश्वस्त रहेपनि जसपासँग विश्वास गरिहाल्ने अवस्थामा नरहेको निष्कर्ष निकालिएको एक नेताले जानकारी दिए । उनका अनुसार भारतको तीव्र चलखेलका बारेमा पनि गम्भीर छलफल भएको थियो ।

भारतका विभिन्न पक्षले चलखेल जारी राखेको कांग्रेसका नेताहरुले निष्कर्ष निकालेका थिए । त्यो बाहेक बहुमत पुग्न नदिन सांसद किनबेचको खतरा पनि औंल्याइएको बैठकमा सहभागी ति नेताले भने । सभापति देउवाले केही सातादेखि आफूलाई दबाब रहेको बताउँदै आएका छन् । तर, कसको के दबाब भन्ने उनले खुलाएका छैनन् । उनी निकट एक नेताका अनुसार भारतीय पक्षको दबाब रहेको छ ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई नै निरन्तरता दिन कांग्रेस मौन बस्नुपर्ने दबाब रहेको स्रोतले बताएको छ । अहिले देउवा वा अरु प्रधानमन्त्री बनाउँनुभन्दा ओलीकै निरन्तरता आफू अनुकुल हुने भारतीय पक्षको बुझाइरहेको स्रोतले बतायो । ओलीको विकल्प खोज्नै पर्ने अवस्थामा जसपा अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा चुनावी सरकार बनाउने भारतको भित्रि खेल रहेको बुझिएको छ । त्यस कारण पनि कांग्रेस प्रष्ट बन्न नसकेको नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्