Logo
Logo
१६५ वटा सडक सञ्जाल निर्माण घोषणा

यसरी तयार पारिएको थियो रणनीति सडक सञ्जालको खाका


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक निर्वाचन क्षेत्रमा एक-एक गरी १६५ वटा सडकको शनिबार एकैपटक घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित रणनीतिक सडक सञ्जालको शुभारम्भ गर्दै ती सडक तीन वर्षभित्र पूरा हुनेसमेत बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यी सडक निर्माणको काम तीव्रताका साथ सम्पन्न गर्ने बताउँदै भने, ‘हाम्रा काम प्रायः समयमा नहुने गरेको छ । त्यसलाई अन्त्य गर्नुपर्छ । हामी यो काम तीव्रताका साथ अनि गुणस्तरीय ढंगबाट भएको हेर्न चाहन्छौँ ।’

शनिबार शुभारम्भ गरिएको सडकहरु सम्बन्धि निर्वाचन क्षेत्रका सांसदहरुले छानेका योजनाहरु भएको बताइएको छ । निश्चित मापदण्डमा परेका र सांसदहरूले छानेका सडकहरूलाई सडक विभागको सिफारिसमा विस्तृत योजनामा पारिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बताए ।

निर्वाचन क्षेत्र रणनीतिक सडक निर्माणसम्बन्धी मापदण्डहरूमा संघीय राजधानीलाई जोड्ने, प्रादेशिक राजधानीलाई जोड्ने, अन्तर्राष्ट्रिय विमानस्थल/सिमानालाई जोड्ने, दुई निर्वाचन क्षेत्रका प्रमुख स्थलहरूलाई जोड्नेजस्ता विषय परेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शिवप्रसाद नेपालले बताएका छन् । उनका अनुसार यसरी निर्माण गरिने सडकको कूल लम्बाई लगभग २ हजार २१० किलोमिटर हुनेछ ।

मन्त्री नेम्वाङका अनुसार यी सडक निर्माणका निम्ति करिब ५७ अर्ब १० करोड रुपैयाँ खर्च हुनेछ । प्रत्येक सडक दुई लेनको र कालोपत्रे गरिएको हुनेछ । यी सबै सडक आगामी तीन आर्थिक वर्षभित्र सम्पन्न भइसक्ने उनले बताए ।

सडक निर्माण शुभारम्भको कार्यक्रममा दिइएको जानकारीअनुसार एउटा निर्वाचन क्षेत्र भएका हिमाली जिल्लाहरूमा ६० करोड रुपैयाँ छुट्ट्याइनेछ भने एउटा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरूमा ५० करोड रुपैयाँ छुट्ट्याइनेछ ।

दुई निर्वाचन क्षेत्र भएका २१ जिल्लाहरूमा ४० करोड रुपैयाँ प्रति निर्वाचन क्षेत्र अनि तीन वा बढी निर्वाचन क्षेत्र भएका २० जिल्लाहरूमा २५ करोड रुपैयाँ प्रति निर्वाचन क्षेत्रको दरमा छुट्ट्याइने जनाइएको छ ।

यसअघि शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्बाङले प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुँदै आएको बताएका थिए ।

मुलुकमा पूर्वाधारको क्षेत्रमा सडकअन्तर्गत निर्माणको नयाँ चरणको अभियानको शुभारम्भ घोषणा गरिएको भन्दै उनले सरकारको चाहनासुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्ने दावी गरे । केपी ओली नेतृत्वको सरकार आएपछि एक आर्थिक वर्षमै सडक पूर्वाधारको क्षेत्रमा विकासले तीव्र गति लिएको उनको भनाइ छ ।

मन्त्री नेम्बाङले भने, ‘समृद्धिलाई प्राप्त गर्नका लागि सडक तथा पुल निर्माण तीव्र गतिमा अघि बढेको छ । सडकहरु ६ देखि ८ लेनसम्मको बन्न थालेको छ । संघीय सडक विभाग मातहत ३५१२ किमि सडक कालोपत्रे भएको छ, ३३ किलोमिटर ग्राभेल सडक बनेका छन्, नयाँ ट्याक १६८६ किलोमिटर भन्दा बढी बनेका छन् ।’

उनले सरकारले तीन वर्षमा सडक पुल ६२८ भन्दा बढी निर्माण गरेको र प्रत्येक दुई दिनमा एउटा पुल निर्माण भएर पूर्वाधार निर्माणको क्षेत्रमा फड्को मारेको दावी गरे । ८० राजमार्गलाई तीव्रता दिएपनि अझैपनि भारतीय र चिनियाँ सीमासम्म सडक सञ्जाल फैलाउन नसकेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्