Logo
Logo

कांग्रेसले अठोट गरिसक्यो, ओलीले राजीनामा नदिए हामी हटाउँछौँ : नेता पौडेल


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले राजीनमा नदिए आफूहरुले हटाउने बताएका छन् । उनले प्रधानमन्त्री ओलीले सांसदलाई तिरस्कार गरेको आरोप लगाए ।

शनिबार राजधानीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा नेता पौडेलले भने, ‘प्रधानमन्त्री केपी ओलीजीले सांसदलाई तिरस्कार गर्नुभएको छ । संसद र संविधानलाई प्रधानमन्त्रीको प्रहारबाट जोगाउनु छ । केन्द्रीय समितिको बैठकबाट उहाँलाई हटाउने अठोट लिएका छौँ ।’

नेता पौडेलले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा आग्रह गर्दै भने, ‘उहाँले छोड्नुहुन्न भने हामी हटाउँछौँ । प्रधानमन्त्रीले राजीनामा नदिएका कारण हटाउन हामी बाध्य हुनुपरेको छ ।’

७० वर्ष लामो संघर्षपछि प्राप्त भएका उपलब्धिहरुलाई ओली नेतृत्वको सरकारले जोखिमतर्फ धकेलेको पौडेलको आरोप छ । नेता पौडेलले मुलुकलाई जोखिमबाट जोगाउन काँग्रेसले सरकार परिवर्तनको अठोट लिएको बताए ।

उनले भने, ‘हामी यो सरकारको विकल्प चाहन्छौँ । ७० वर्षदेखि जुन प्रणाली, जुन सभ्यताका लागि हामीले कष्ट उठायौँ, त्यसमाथि प्रहार भएको छ । त्यस कारण हामीले सरकार परिवर्तन गछौँ भनेर अठोट गरेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्