Logo
Logo

ओलीको फूर्ति प्रधानमन्त्री भइञ्जेलमात्र हो : नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको फूर्ति प्रधानमन्त्री भइञ्जेलसम्म मात्र भएको बताएका छन् । शनिबार आफू निकटका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘केपी ओलीको अहिले जुन फूर्ति छ, त्यो प्रधानमन्त्री भइञ्जेलमात्र हो ।’


नेता नेपालले ओली एमालेको नेता नै नभएको समेत बताए । ‘केपी ओली एमाले नतो रे । के एमाले, माले केपीले बनाएको हो ?’ नेता नेपालले भने, ‘त्यतिखेर त केपी ओली जेलमा थिए । त्यसैले एमालेको लिडर हामी हौँ ।’ उनले अहिलेसम्म आफूले नै पाटी थेग्दै आएको बताउँदै फेरि पनि नयाँ पुस्तालाई समेटेर अगाडि बढ्ने बताए ।

उनले केपी ओली कम्युनिष्ट आदर्शबाट नै स्खलित भएको समेत आरोप लगाए । ओलीलाई कुर्सीको मात्र प्यारो हुने भएकाले पार्टीलाई छिन्नभिन्न र धराशयी बनाएको उनको भनाइ छ ।

केपी ओलीमा तानाशाह प्रवृतिमा भएको बताउँदै नेता नेपालले भने, ‘तानाशाहमा व्यक्तिवाद हावी हुन्छ । अहंकारीमात्र हुन्छ, कुमाइमात्र हुन्छ । अहिले केपी ओलीमा यही प्रवृति हुर्कँदै गएको छ । यो अति भयो भने अन्त्य हुन्छ । त्यसैले केपी ओलीको अन्त्य सुनिश्चित छ ।’ संगठन नमान्ने र एकलौटी र व्यक्तिवादी कम्युनिष्ट हुनै नसक्ने उनको भनाइ छ ।

नेता नेपालले केपी ओलीले पार्टीको विधानमै नभएको व्यक्तिवादी चरित्र लादेर नेताहरुलाई कारबाही गर्दै आएको बताए । केपी ओलीको एकलौटीको रुपका निलम्बन ग¥यो, कारबाही गरेको भन्दै भने, ‘तर हामी डराउनेवाला छैनौँ, कोही खुट्टा कमाउनेवाला छैन । याद रहोस् यो कुरा केपी ओलीलाई, जंगलमा युद्ध लडिरहेका माओवादी द्वन्द्वको समेत हामीले नै समाधान गरेका हौँ । कुनै विदेशी आएर गरेको होइन ।’

केपी ओलीमा मै हुँ पार्टी भन्ने अहँकार र दम्भ भएको बताउँदै नेता नेपालले भने, ‘यस्ता चरित्रका व्यक्तिहरु आफैँ सकिन्छन् ।’ उनले यो अहिलेको लडाइँ पदको होइन, देश, आन्दोलन र परिवर्तनको सिद्धान्तसँग जोडिएको आन्दोलन भएको बताए ।

उनले कार्यकर्तालाई जिल्ला जिल्ला गएर संगठन निर्माणमा लाग्न आग्रह गर्दै भने, ‘तपाइँहरु नडराउनुस्, आतिनु पर्दैन । हामी पार्टीलाई संगठित बनाएर लैजान्छौँ । अहिले गाउँगाउँ र जिल्ला जिल्लामा संगठनको अभाव पनि छ । अब अगाडि बढ्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस्